आजदेखि गोदावरीमा एमाले प्रतिनिधि परिषद् बैठक

शनिबार, वैशाख ८, २०८१
Neuro hospital Nepalgunj

ललितपुर । आजदेखि नेकपा  एमालेको तीनदिने  राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु हुन लागेको छ। बैठक आगामी बैशाख १० गतेसम्म ललितपुरस्थित गोदावरीमा हुँदैछ।

उक्त बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन् । एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने बताए ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको 'झुलाघाट चिवाभज्याङ'  यात्राको समीक्षा हुने उनले बताए । यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।

बैठकमा एक जना विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मान प्रदान गरिने उनले बताए । कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा पठाइएको छ । एमालेको उक्त बैठक कांग्रेस सभापति देउवाले निमन्त्रणालाई स्वीकार गरि आउने बताएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्