आज र भोलि भिटामिन 'ए' खुवाइँदै

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ  । आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने तयारी गरिएको छ । सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटाइँदै छ । कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने छ ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र बैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्