नेपालगञ्ज उपमहानगरले सुरु गर्यो इ-रिक्सा चालकलाई परिचय वितरण

बुधबार, वैशाख ५, २०८१

नेपालगञ्ज । नेपालगञ्जमा प्रमुख समस्याको रुपमा देखिएको इ–रिक्सा व्यवस्थापनलाई चुस्त बनाउन नेपालगञ्ज उपमहानगरपालिकाले नयाँ कामको सुरुवात गरेको छ । सबैभन्दा समस्या पारेको  इ–रिक्सा चालकहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाले सवारी चालक परिचयपत्र वितरण सुरु गरेको छ ।

चालक परिचय पत्रसँगै इ–रिक्सा चालकलाई अभिमुखीकरण पनि गर्ने गरिएको छ । पहिलो चरणमा १ सय १७ जनालाई चालक परिचयपत्र र ज्याकेट वितरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले परिचयपत्र र ज्याकेट वितरण गरेका हुन् । 

नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापन गर्नको लागि नेपालगञ्ज उपमहानगरपालिकाले पछिल्लो समय इ–रिक्सा चालकहरुलाई परिचयपत्र, बीमा र अभिमुखीकरण जस्ता कार्यक्रम गर्दै आएको छ । यसलाई थप प्रभावकारी गराउन उपमहानगरपालिकाले बजेट बिनियोजन गर्ने नगर प्रमुख विष्टले बताए ।

नेपालगञ्जमा नेपाल इ–रिक्सा व्यवस्थापन समिति प्रालिको व्यवस्थापनमा ई– रिक्सा व्यवस्थापनको काम भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख  विष्टले इ–रिक्सा चालकहरुको सुरक्षाको लागि परिचयपत्रसहित स्वास्थ्य बीमा योजना अगाडि बढाइरहेको बताए । उनले भने, ‘नेपालगञ्जमा इ– रिक्साहरुको व्यवस्थापन गर्न जरुरी छ । इ–रिक्सा निम्न वर्गको जनताको आर्थिक आम्दानी गर्ने माध्यम बनेको छ । यातायातलाई सहज पनि बनाएको छ । तर, यसको सहीरुपमा व्यवस्थापन नहुँदा थुप्रै समस्या सृजना भएका छन् । यसलाई सुधार गर्ने प्रयास गरिरहेका छौं ।’

इ–रिक्सा चालकहरुले पनि नेपालको कानुन र ट्राफिक नियमहरुको बारेमा जानकार भएर सवारी साधन चलाउन ध्यान दिनुपर्ने प्रमुख विष्टले बताए । उनले भने, ‘इ–रिक्सा चालकहरुले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ । उहाँहरुको पेशाको सुरक्षा, यात्रीहरुको सुरक्षाको लागि हामीले कार्यविधि बनाएर काम गरिरहेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

नेपालगञ्ज उपमहानगरपालिकाले वितरण गरेको चालक अनुमतिपत्रले नेपालगञ्जमा इ–रिक्सा व्यवस्थापनमा सहयोग पुग्ने प्रमुख विष्टले बताए । नेपाल इ–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले इ–रिक्सा चालकहरुलाई विज्ञहरुबाट ट्राफिक नियम तथा बीमाहरुको बारेमा अभिमुखीकरण गराउँदैं चालक परिचयपत्र वितरण गरिने बताए ।

त्यस्तै ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज वरिष्ठ सई प्रविण आर्चायले इ–रिक्सा चालकहरुलाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराउदै आइरहेको बताए। ट्राफिक नियमको बारेमा धेरै जानकारी नहुँदा नेपालगञ्जमा इ–रिक्सा दुर्घटनाको संख्या बढिरहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्