'जीबी राई खोइ, भन्देउ न रवि दाई' भन्दै सहकारी पीडितको प्रदर्शन

मंगलबार, वैशाख ४, २०८१
Neuro hospital Nepalgunj

बुटवल । गृहमन्त्री रवि लामिछानेविरुद्द प्रदर्शन गर्दै सहकारी ठगी प्रकरणमा छानबिन हुनुपर्ने माग गर्दै सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले प्रदर्शन गरेका छन। सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रविमाथि छानबिन गर्न रुपन्देहीको बुटवलस्थित उक्त सहकारीका पीडितहरुले सुप्रिम सहकारी पीडित संघर्ष समिति नै गठन गरेर उक्त माग गरेका हुन् । 

पीडितहरुले आज  बुटवलमा प्रदर्शनसमेत गरेका छन् । सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका रविमाथि छानबिनका लागि दबाब दिएका हुन् । 

प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्नसमेत माग गरेका छन् । 

पीडितहरु बुटवलको चौराहाबाट नाराबाजी गर्दै बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए ।

गृहमन्त्री लामिछानेले रकम अपचलन गरेको पुष्टि भएको खबर सार्वजनिक भएपछि पीडितले उनीमाथिसमेत छानबिन हुनुपर्ने माग गरेका हुन् । 

संघर्ष समितिका संयोजक विजयकुमार नेपालले आफूहरुले न्याय नपाएसम्म संघर्षलाई निरन्तरता दिने बताउँदै माग पूरा नभए काठमाडौँ गएर संसद घेराउ गर्नेसमेत चेतावनी दिएका छन् । 

यसघि सोमबार सुप्रिम सहकारीका शेयर होल्डर रवि लामिछानेले दुई करोड ऋण लिएको देखिए पनि उनलाई प्रतिवादी नबनाइ अभियोजन पेश गरिएको थियो । गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिए पनि उनलाई प्रतिवादी नबनाई अदालतमा अभियोजन पेश गरिएको हो । 

सोमबार जिल्ला अदालत रुपन्देहीमा बुझाइएको अभियोजन  छ । सो रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख गरिएको छ तर लामिछाने भने उम्किएका छन् । 

बुटवलस्थित सुप्रिम सहकारीबाट करिब पौने दुई अर्ब ठगी भएको ठहर गर्दै मुद्दा दायर भएको छ । २८ जनालाई मुख्य अभियुक्त बनाइएको मुद्दामा एक हजार २ जनालाई थप प्रतिवादी बनाइएको छ । 

रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको सेयरका लागि एक करोड ८० लाख र ऋणबापत दुई करोड लिएको तथ्य देखाइए पनि उनलाई प्रतिवादी नबनाउनको पछाडि शक्ति केन्द्रको दबाब रहेको स्रोतको दाबी छ । 

प्रतिवादीहरू गितेन्द्रबाबु (जीबी) राई, ओमप्रकाश गुरुङ, सागर केसी, भुपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट एक करोड ५७ लाख ९६ हजार रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ ।

यस्तै सहकारीमा संलग्न रहेका प्रतिवादीहरू दिनेश रोकाबाट तीन करोड ८० लाख, भविश्वर अर्यालबाट एकलाख ४० हजार, दुर्गा चापागाईं पाण्डेबाट १८ लाख, दिपक न्यौपानेबाट पाँच लाख ४५ हजार, हेमन्त अधिकारीबाट १३ लाख ५० हजार, कविता तामाङबाट एक लाख ५० हजार, नवीन अछामीबाट १० लाख, दिपेशकुमार पुनबाट तीन लाख, सुरज श्रेष्ठबाट दुई लाख ११ हजार माग दाबी गरिएको छ । 

यसैगरी राज बरालबाट एक लाख ६६ हजार ९६३ रुपैयाँ, मझर मोहम्मदबाट ३४ हजार, असरफ अली सिद्धिकीबाट ३४ हजार, आशीष आनन्दबाट एक लाख ९५ हजार, बुद्धि गुरुङबाट १८ हजार ७००, भिरजकुमार दासबाट ६ लाख ३६ हजार रुपैयाँ गरी जम्मा चार करोड ६० लाख २७ हजार रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ । 

यस्तै अन्य एक हजार २ जनालाई पक्राउ गरी ६ करोड एक लाख २३ हजार ७५४ असुल गर्न अभियोजनमार्फत माग दाबी गरिएको छ । समग्रमा एक अर्ब ७२ करोड ४३ लाख ४७ हजार ५०७ रुपैयाँ असुल गर्न माग दाबी गरिएको छ ।

तर त्यही सहकारीबाट रकम लिएर अपचलन गर्ने लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई भने उन्मुक्ति दिइएको छ । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १५:११
प्रतिक्रिया दिनुहोस्