२०८० मा विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु, १६ सय बढी घाइते

सोमबार, वैशाख ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वि.सं. २०८० मा विपद्जन्य घटनाबाट देशभरमा ४९३ जनाको मृत्युु भएको जनाएको छ। विपद्जन्य घटनामा ३१ जना बेपत्ता भएको र १ हजार ६१६ जना घाइते भए।

२०८० भर ६ हजार ४ सय ४ विपद् घटनामा ८० हजार ७१६ परिवार प्रभावित बनेको प्राधिकरणले जनाएको छ। विपद्जन्य घटनामा कुल ५ अर्ब ४२ करोड ५६ लाख रुपैयाँँको भौतिक संरचना क्षेति भएको हो।

२०८० कार्तिकमा जाजरकोटमा गएको भूकम्पबाट सबैभन्दा बढी १५५ जनाको मृत्यु भएको हो। देशभर २०८० वैशाखदेखि चैत मसान्तसम्म आगलागीका ४ हजार ६१ भए। जसमा परेर १०६ जनाको मृत्यु हुँदा ५०६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। आगलागीबाट ५ हजार १३० परिवार प्रभावित भएको घटनामा २ अर्ब ५२ करोड रुपैयाँ बढीको क्षेति भएको हो।

२०८० सालभर देशभर २५० चट्याङका घटना भए। ती घटनामा परेर ४६ जनाको मृत्यु हुँदा २२८ जना घाइते भएका थिए।

देशभर जनावरको आक्रमणबाट ४५ जनाले ज्यान गुमाउँदा २७८ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

त्यस्तै उच्च उचाइका कारण १५ जनाको मृत्यु भयो भने पहिरोमा परेर ५० , हिमपहिरोमा १२, सर्पदंशबाट २० र डढेलोबाट ११ जनाले ज्यान गुमाएका हुन् ।

विपद्जन्य घटनामा २०८० मा  बाढी-पहिरो, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, वर्षा , गैरप्राकृतिक विपद् , हावाहुरी ,भूकम्प, फ्लू, जनावरबाट आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायतका घटना भएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्