२०८१ लाई कांग्रेसले पुनर्जागरणको बर्ष बनाउनुपर्छ: गगन थापा

आइतबार, वैशाख २, २०८१
Neuro hospital Nepalgunj

बाँके  । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज पनि करिब आधा दिन बाँकेमै ब्यस्त भएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममाा बाँके आइपुगेका थापाले आज विहान सुरुमा नेपालगञ्जमा उद्योगी व्यवसायीसंग संवाद गरे ।

प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको उद्योगी व्यवसायी संवादमा उनले उद्योगी व्यवसायीका समस्या र गुनासा सुने । थापाले यी समस्या र गुनासा काठमाडौं पुगेर प्रधानमन्त्री र शीर्ष नेतृत्वसमक्ष राखेर समाधानका लागि पहल गर्ने बताए । आफू एक जना सांसद पनि भएको नाताले संसदमार्फत पनि सरकारको ध्यानाकर्षण गराउने थापाको भनाई छ। उद्योगी व्यवसायीले सरकारको नीति, आर्थिक संकट, लगानीमैत्री वातावरणको अभाव, उत्पादनको उचित बजार अभाव लगायतका कारण आफूहरुले ब्यहोर्नु परिरहेको समस्या राखेका थिए । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, मैकुलाल बाल्मिकी, प्रदेश सभापति अमरसिंह पुन, बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायत उद्योगी व्यवसायीको ठूलो संख्यामा उपस्थिति थियो ।

त्यसपछि महामन्त्री थापा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ बाँकेले खजुरामा आयोजना गरेको संवाद कार्यक्रममा सहभागी भए । त्यहाँ उनले नेपाली कांग्रेसले आफूभित्रको शक्ति र सामथ्र्य चिनेर संगठित गर्नुपर्ने बताएका छन् । २०८१ साललाई कांग्रेसले पुनर्जागरणको बर्ष बनाउनुपर्ने उनको भनाई छ । कांग्रेसलाई पुनर्जागृत गर्न उनले शुद्धिकरण र सुदृढीकरणमा जोड दिए । २०८१ सालभरि कांग्रेसले बालुवाटार र सिंहदरबारतिर आँखा लगाउन नहुने उनको भनाई छ । महामन्त्री थापाले अब कांग्रेसका कार्यकर्ताले अरु पार्टीको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउन नदिइने बताए । उनले निर्वाचन प्रणाली बदल्न एमालेसंग संवाद र सहकार्य आवश्यक रहेको बताए । एमालेसंगको संवाद सत्ताका लागि नभई महत्वपूर्ण विषयहरुको सम्बोधनका लागि हुने बताए । क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका सहमहामन्त्री किशोरसिंह राठौर पनि उपस्थित थिए ।

संवाद कार्यक्रम पश्चात थापाले सुशील कोइराला क्यान्सर अस्पतालको अवस्था अवलोकनसंगै विद्यमान समस्याबारे जानकारी लिएका थिए । शनिवार पनि उनी दिनभर बाँकेमै विभिन्न कार्यक्रममा ब्यस्त थिए । बाँकेका कार्यक्रम सम्पन्न गरेर उनी आजै बर्दियातिर लागेका छन् । 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्