नाउपा अध्यक्ष रन्जिता पक्षका कैलाश चौधरीको पनि सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस

आइतबार, वैशाख २, २०८१
Neuro hospital Nepalgunj

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि सुदूरपश्चिमको  मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । रेशम चौधरी पक्षका नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेपछि पार्टी अध्यक्ष श्रेष्ठ पक्षका कैलाशले पनि आज दिउँसो नै दाबी पेस गरेका हुन् ।

कैलाशले प्रदेश प्रमुख नजिर मिँयासमक्ष नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका सभामुख सहित ११ जना सांसदको समर्थनमा दावी पेस गरेका हुन् । 

कैलाशले दाबी पेस गरेपछि दुई जनाको दाबी भएपछि कानुनी परामर्श पश्चात् निर्णय लिने प्रदेश प्रमुख मिँयाले जवाफ दिएका छन् ।

आज दिउँसो नै नाउपाका लक्ष्मणकिशोर चौधरीले कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, र नेकपा एकीकृत समाजवदी (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीको हस्ताक्षरसहितको पत्रका साथ मुख्यमन्त्रीमा दाबी पेस गरिसकेका छन् ।

कांग्रेसका १८, नाउपाका ४ र नेकपा एसका ४ जना सांसदहरुको समर्थनमा चौधरीले प्रदेश प्रमुख नजिर मिँयासमक्ष आज दिउँसो मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दै पत्र दिएका हुन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्