गगन थापा बाँकेमा, प्रेस युनियनको भित्तेपात्रो विमोचन

शनिबार, वैशाख १, २०८१
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आज नयाँ बर्ष २०८१ को प्रारम्भका दिन दिनभर बाँकेमा ब्यस्त भएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा रहेका महामन्त्री थापा आज जिल्लाका तीन ठाउँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए ।

दिउँसो २ बजेपछि सुरु भएको उनको कार्यक्रम राती साढे ८ बजेसम्मै जारी रह्यो । डुडुवाको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकमा जनतासंग संवाद गरेका थापाले साँझ पार्टी कार्यालयमा नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेको भित्तेपात्रो विमोचन र कार्यकर्ता भेटघाट गरे । संवाद यात्राका क्रममा महामन्त्री थापाले दिउँसो डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित मिलनचोकमा आयोजित कार्यक्रममा जनताका कुरा सुने अनि आफ्ना कुरा राखे । त्यहाँ मगन्ता समुदायले पनि महामन्त्री थापासमक्ष आफ्ना समस्या दर्शाएका थिए ।

त्यसक्रममा बोल्दै थापाले यात्राका क्रममा आफूले देखेका समस्या राजधानी पुगेर सरकार र शीर्ष नेतृत्वसमक्ष राख्ने र समाधानको पहल गर्ने बताए । हुलाकी राजमार्गको अवस्था बुझ्न, जनतासंग संवाद गर्न र आवश्यक पहलका लागि सरकारको ध्यानाकर्षण गराउन आफू संवाद यात्रामा निस्केको बताउँदै उनले झापादेखि बाँकेसम्मको अवस्था अवलोकन गर्दा अझै कैयौं अवरोध र कामहरु बाँकी नै रहेको आफूले पाएको बताउँदै काठमाण्डौ पुगेर संसदमा कुरा उठाउने, प्रधानमन्त्री लगायत विभागीय मन्त्रीसंग यसबारेमा कुरा गर्ने बताए । हुलाकी राजमार्ग तराईको लाइफलाइन भएको भन्दै महामन्त्री थापाले यसको निर्माण कार्यलाई चाँडै सम्पन्न गर्न दृढ इच्छाशक्ति र काम गर्ने तवरतरिका बदल्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजना बाँकेबासीका लागि बरदान साबित हुने आयोजना भएपनि निर्माण कार्यमा भइरहेको ढिलाईले लागतको अनुपात बढाइरहेको भन्दै पर्याप्त बजेटको व्यवस्था र मुआब्जा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइने बताए । काम गर्ने मोडेलमै त्रृटी भइरहेको भन्दै उहाँले यशासमयमा सक्न राष्ट्रिय गौरवको आयोजना प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेका सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।

यता त्रिभुवन चोकमा आयोजित कार्यक्रममा बादी समुदाय, अपांगता भएका समुदाय लगायतले थापासमक्ष आफ्ना कुरा राखेका थिए। त्यसक्रममा थापाले मुलुक बनाउन साझा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानी बन्द गर्नुपर्ने बताए । मुलुक बाहिर गएर युवाहरुले कमाई गरेर पठाएको पैसा कृषिमा लगानी गर्न सके मात्र मुलुक बन्ने जिकिर गर्दै उनले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई निरुत्साहित गर्नुपर्ने बताए। गठबन्धनरुपी फोहोरबाट बाहिर निस्केको कांग्रेसले अब आफूलाई सुदृढ बनाएर लैजानुपर्ने बताए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए । 

यस्तै पार्टी कार्यालयमा प्रेस युनियन बाँकेको भित्तपात्रो विमोचन र कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले नयाँ बर्ष २०८१ लाई कांग्रेसले पुनर्जागरणको बर्ष बनाउनुपर्ने बताए । त्यसका लागि पार्टीमा शुद्धिकरण र सुदृढीकरण आवश्यक हुने बताउँदै उनले नयाँ ढंगले अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे । थापाले अहिले देखा परेका थुप्रै बेथितिहरुलाई किनारा लगाउन सशक्त भूमिका खेल्दै पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने बेला आएको बताए । भित्तेपात्रो विमोचन कार्यक्रम प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यकर्ता भेटघाट कार्यक्रम कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

महामन्त्री थापा भोलि विहान उद्योगी व्यवसायीसंगको संवादमा हुनेछन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा उनले संवाद गर्नेछन् । त्यसपछि खजुरामा पार्टी कार्यकर्ता भेटघाट तथा सुशील कोइराला क्यान्सर अस्पतालको अवलोकन गर्नेछन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्