अन्तिम समयसम्म पनि तुलसीपुर विमानस्थल बनाउन लागि पर्नेछु: सांसद गिरी

शुक्रबार, चैत ३०, २०८०
Neuro hospital Nepalgunj

तुलसीपुर (दाङ )। दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल निर्माणका लागि अन्तिम समयसम्म पनि आफू लागीपर्ने प्रतिनिधि सभा सदस्य ( सांसद)  एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले बताएका छन् ।

पूर्व सिंचाइमन्त्री एवं सांसद गिरीले आज तुलसीपुर उपमहानगरपालिकाको ३२औं स्थापना दिवसमा  प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै  विमानस्थल टरिगाउँमै बन्छ भनेर देखाउनका लागि भएपनि पछिल्लो समय आँफूले पहल गरेर क्यानलाई ५ करोड रुपैया हाल्न लगाएको बताए ।

‘ कसैले नारायणपुर बन्छ भन्याछन् कसैले लमही बन्छ भन्छन्,’ सांसद  गिरीले भने ‘ त्यो भ्रम चिर्णका लागि भएपनि एयरपोर्ट टरिगाउँमै बन्छ भनेर प्रमाणित गर्न पछिल्लो पटक पैंशा हाल्न लगाइएको हो ।’

यसअघिका काँग्रेसका अर्थमन्त्रीसंग टरिगाउँ विमानस्थलको बिषयमा आँफूले बाझाबाझ गरेको भएपनि काम नबनेको र अहिले नेकपा माओबादी केन्द्रका अर्थमन्त्री बर्षमान पुनसंग टरिगाउँ विमानस्थलको बारेमा सकारात्मक कुरा भइरहेको  गिरीले बताए ।

‘पहिले हामीलाई ज्ञान भएन र हामीलाई प्राबिधिकले झुक्याए,’ सांसद गिरीले भने ‘ हामी प्राबिधिकको भरमा प¥र्यौैं, तर प्राबिधिकले हामीलाई झुक्याएर जम्मा पाँच सय पचार मिटर मात्रै विमानस्थल पिच गरेर धोका दिए।’ अहिले पनि आँफूले जहिलै कसरी विमानस्थल बन्छ भनेर चिन्तन मनन् गर्ने गरेको गिरीले बताए ।

आस्थाका आधारमा काम नगर्ने बताउँदै  गिरीले नगरको बिकासमा आस्था कतै घुस्न नहुने जोड दिए । ‘ बिकास गर्ने बेला यो दीपक गिरी टीकाराम खड्कासंगै हुन्छ,’  गिरीले भने ‘ हामी चुनावका बेला प्रतिष्पर्धा गरौंला अहिले जनप्रतिनिधि भइसकेपछि आश्थाका आधारमा काम गर्न हुन्न।’

सारा दंगालीले गाली गर्न थालेपछि सडक बोर्डबाट ढाई करोड झिकेर टालटुल पार्ने काम भएपनि अब फोरलेनका लागि विधेयक बनाइ अगाडि बढेको हुँदा बैशाख वा जेठसम्म नयाँ टेन्डर हुन सक्ने गिरीले बताए ।

आँफु ९ महिना मन्त्री हुँदा बृहत सिंचाई परियोजना जिल्लामा आएको भन्दै गिरीले आफ्नै प्रयासले राप्ती बबई क्याम्पस स्थापना भएको बताएका थिए ।

त्यस्तै सांसद गिरीले तुलसीपुरस्थित बीरेन्द्र चोकको सडकको बारेमा गलत अफवाफ फैलाएको बताए । ‘ दीपक गिरीले घर भत्किन्छ भन्ने ठानेर बाटो रोकेको भन्ने अफबाफहरु सुन्छ,’ गिरीले भने ‘ त्यो बाटो बिस्तार गर्दा सबै भन्दा पहिला मेरो घर भत्काइयोृुस तर अफबाफ नफैलाइयोस।’

गिरीले तुलसीपुर अमिलिया र तुलसीपुरदेखि  पश्चिम दाङ जोड्ने सड्कहरु मर्मतका लागि काम हुने बताए ।त्यस्तै उनले तुलसीपुरको शान्ति सुरक्षाको बारेमा गलत कुराहरु फैलाइदै आइएको भन्दै त्यो मेट्न सबै लाग्नुपर्नेमा  जोड दिए ।

नगर प्रमुख  टीकाराम खड्काको अध्यक्षतामा भएको बार्षिक उत्सव कार्यक्रमलाई जिल्ला समन्वय समितिकी उपप्रमुख चेतना चौधरी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, पूर्व मेयर ढुण्डिराज लामिछाने, नेपाली काँग्रेसका नगरसभापति सुरेश हमाल, नेपका एमालेका नगर सचिव रुपबहादुर खत्री, नेकपा माओबादी केन्द्र दाङका सहसंयोजक रामबहादुर दहित लगाएतले सम्बोधन गरेका थिए ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्