सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा वैशाख १ गते बाँके आउँदैछन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित 'संवाद यात्रा' गरिरहेका महामन्त्री थापा बाँके आउन लागेका हुन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा पत्रकार सम्मेलन गरेर महामन्त्री थापाको कार्यक्रमबारे जानकारी गराएको हो ।
क्षेत्रीय सभापति रमेशकुमार गुप्ताले पत्रकार सम्मेलनमा थापा वैशाख १ र २ गते बाँकेमा रहने बताए । गुप्ताका अनुसार महामन्त्री थापा वैशाख१ गते दिउँसो २ बजे डुडुवा गाउँपालिका-५ कम्दीस्थित मिलनचोक र ४ बजे नेपालगन्जको त्रिभुवनचोकमामहामन्त्रीज्युको 'संवाद यात्रा' मा सहभागी हुनेछन् । त्यसै दिन साँझ ६ बजे पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम र नेपाल प्रेस युनियन बाँके शाखाको क्यालेन्डर (भित्तेपात्रो) विमोचन गर्ने कार्यक्रम छ ।
यस्तै वैशाख २ गते विहान उद्योगी व्यवसायीसंग भेटघाट तथा क्षेत्र नम्बर ३ खजुरामा कार्यकर्ता भेटघाट र दिउँसो सुशील कोइराला क्यान्सर अस्पताल अवलोकन गर्ने कार्यक्रम रहेको गुप्ताले बताए । थापाले अघिल्लो साता क्षेत्र नम्बर १ मा 'संवाद यात्रा' सम्पन्न गरेका थिए ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा 'नेपाली कांग्रेस सबैभन्दा ठूलो, पुरानो र गर्विलो इतिहास बोकेको जीवन्त पार्टी हो । कांग्रेस आफ्ना हरेक क्रियाकलाप र योजनालाई जनअपेक्षा अनुरुप प्रवाहित गराउन सचेत छ । त्यसैले जनतासंग जोडिएर गरिने कार्यक्रमलाई प्रभावकारी बनाउन हामी प्रतिबद्ध छौँ । हामीले संचालन गर्ने हरेक गतिविधिहरुमा नागरिक चासो र सरोकार हुन्छ । नागरिकसंगको संवाद, यथार्थ विश्लेषण र समस्या समाधानार्थ कार्यान्वयन तहमा लैजान आवश्यक दबाब सिर्जना गर्न कांग्रेस उद्यत पनि छ ।' भनिएको छ । क्षेत्रीय सभापति गुप्ताले नेता कार्यकर्ता र स्थानीयसंग महामन्त्री थापाले प्रत्यक्ष संवाद गर्ने निर्धारित कार्यक्रमहरुका बारेमा जनसमक्ष प्रचारप्रसार गरी सहयोग गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस स्वच्छ, निष्पक्ष र स्वतन्त्र पत्रकारिताको वातावरण निर्माणका लागि सधैं तत्पर रहेको विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, क्षेत्रीय सचिवद्वय सुनिलसिंह हमाल र प्रदिपकुमार साह, प्रदेशसभा २(२) का सभापति जितेन्द्रबहादुर हमाल लगायत उपस्थित थिए ।