सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल-फित्र (ईद) आज बाँकेमा पनि धुमधामका साथ मनाइँदैछ । बाँकेमा ईदको रौनक छ । इस्लाम धर्मावलम्बीहरुले विहान नेपालगञ्ज विपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढेर आपसमा अंकमाल गरी शुभकामना साटासाट गरेका छन् । इदगाहमा नअटेपछि सडकमै बसेर समेत नमाज पढिएको छ । नमाजपछि देशमा शान्ति, समृद्धि र सद्भावका लागि विशेष प्रार्थना गरिएको मुस्लिम धार्मिक गुरुहरुले बताएका छन् ।
अन्य समुदायका व्यक्तिहरुले पनि इदगाह क्षेत्र पुगेर शुभकामना साटासाट गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायत इदगाहस्थल पुगेका थिए। जिल्ला तथा नगरका अन्य मस्जिदमा पनि सामूहिक नमाज पढिएको छ । बाँकेमा मुस्लिम समुदायको बाक्लो बसोबास छ ।
ईद इस्लामिक पात्रो अनुसार मनाइने सबैभन्दा ठूलो पर्व मध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद-उल फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ ।
हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।
चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु) ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।