वायु प्रदूषणमा काठमाडौं विश्वकै पहिलो नम्बरमा

बुधबार, चैत २८, २०८०

काठमाडौं । काठमाडौं विश्वकै सबैभन्दा वायु प्रदुषित सहर बनेको छ। काठमाडौँको औसत वायु गुणस्तर सूचकांक (एक्यूआई) बुधबार बिहान २४७ रहेको छ । यो विश्वका अन्य सहरहरुभन्दा बढी हो । 

भारतको नयाँदिल्ली २१४ सहित दोस्रो तथा पाकिस्तानको लाहोर २०७ सहित तेस्रो स्थानमा रहेको छ । 

अहिले वर्षा पनि हुन नसक्दा काठमाडौँमा प्रदूषण झन् बढेको छ । सरकारले आगलागी नियन्त्रणका लागि कुनै ठोस कदम चाल्न सक्दा वन जंगल त ध्वस्त भएको छ नै यसले मानवीय क्षतिसमेत बनाएको छ ।

सँगसँगै स्वास्थ्यलाई गम्भीर असर गर्ने प्रदूषण बढेको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार स्वस्थ वातावरणका लागि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कण (पीएम २.५) को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । 

तर विश्वकै प्रदूषित बनेको काठमाडौँमा केही दिनदेखि हावामा २.५ माइक्रोनभन्दा सानो व्यास भएका कणको मात्रा २० गुणासम्म बढेको छ । 

आइतबारदेखि बुधबारसम्म लगातार चार दिन काठमाडौँको प्रदूषण चरम उत्कर्षमा छ । 

एक त काठमाडौँ एकदमै प्रदूषित छ त्यसमाथि यो कचौरा आकारको काठमाडौँ उपत्यकामा प्रदूषण छिरेपछि हट्न मुस्किल पर्छ । तीव्र वेगमा हावा लाग्ने वा भारी वर्षा नभएसम्म प्रदूषण कम हुन मुस्किल पर्छ । 

अहिलेसम्म प्रद्रषण काम गर्न कुनै पनि माध्यमको प्रयोग नेपालमा भएको छैन । आगामी केही दिनसम्म उपत्यकामा वर्षा हुने सम्भावनासमेत देखिएको छैन । पछिल्लो समयमा देशका ३० जिल्लामा फैलिएको डढेलोको कारण वायुमण्डलमा प्रदुषण भएको हो।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्