उपनिर्वाचन : बुधबारदेखि आचारसंहिता लागू हुँदै

मंगलबार, चैत २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदैछ।

निर्वाचन आयोगले बुधबारदेखि उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि आचारसंहिता लागू गर्न लागेको हो।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ।

यसैगरी राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन भनिएको छ।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका सम्बन्धमा पनि तयारी समीक्षा गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम २ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वत्रन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन् । 

उम्मेदवार फिर्ता लिनेमा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईं रहेका छन् । आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्नसमेत प्रदान गरिएको जनाएको छ । 

त्यसैगरी बझाङको प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्नसमेत प्रदान गरिएको छ ।

बझाङको प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भनिएको भए पनि माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छैन । इलाममा भने माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सघाउने निर्णय गरेको हो।

 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:४५
प्रतिक्रिया दिनुहोस्