फलेवास र जलजलाका विकट बस्तीका स्थानीयले पाए खानेपानीको सुविधा 

सोमबार, चैत २६, २०८०
Neuro hospital Nepalgunj

फलेवास (पर्वत ) । पर्वतको फलेवास र जलजलाको विकट बस्तीमा वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयl  खानेपानीको सुविधा पाएका छन्। जिल्लाको फलेवास नगरपालिका–३ पुर्कोट र जलजला गाउँपालिका–८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो । 

आकासे पानी घैँटामा सङ्कलन गर्ने र दैनिक एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर पानीको जोहो गर्नुपर्ने यहाँका नागरिकको समस्या अब समाधान भएको छ । पुर्कोटमा डिप बोरिङ खानेपानी आयोजनामार्फत खानेपानी सुविधा उपलब्ध गराइएको हो । बस्तीभन्दा तल रहेको चाम्लेस्वारा धारापानीमा जमिनमुनिको पानी उत्खनन गरेर माथि डाँडामा पुर्‍याइएको छ ।  

स्थानीय दुई सय परिवारका लागि डिप बोरिङमार्फत उत्खनन गरिएको पानी तानेर ट्याङ्कीमा सङ्कलन गरी एक घर एक धारामार्फत वितरण गरिने भएको छ । रु चार करोडको लागतमा यो योजना सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका इन्जिनियर प्रेमबहादुर थापाले बताए । केही महिनामै सबै घरमा धारा बनाएर पानी वितरण गरिने उनले जानकारी दिए । 

अहिलेसम्म पिठ्यूँमा गाग्री बोकेर गुजारा चलाउँदै आएकी स्थानीय बबिता दर्जीले गाउँमा धारामा पानी आउन थालेपछि सुखको सास फेरेको बताइन् । अब पानीको जोहो गर्नकै लागि रातैमा उठेर कुवा र इनारमा धाउनुपर्ने समस्या अन्त्य भएको उनको भनाइ छ । डाडाँमा बस्ती बसेको वषौँ वर्षपछि खानेपानी उपलब्ध भएको दर्जीले बताइन् । 

बोरिङमार्फत तानिएको पानी ट्याङ्कीमा सङ्कलन गरेर हरेक घरमा वितरण गरिने फलेवास नगरपालिका–३ शङ्करपोखरीका वडाअध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए । नजिकमा खोला वा मूल नहुँदा यो गाउँमा अहिलेसम्म खानेपानी योजना सञ्चालनसमेत हुन सकेको थिएन । 

त्यसैगरी, लामो समयदेखि काकाकुलको नियति भोगिरहेको जलजला गाउँपालिका–८ नाग्लीवाङस्थित लुप्राङमा पनि पहिलोपटक पाइपमार्फत खानेपानी पुर्‍याइएको छ । सिङ्गो बस्ती नै एउटा कुवामा निर्भर हुनुपर्दा भोग्नुपरेको सास्तीका कारण बसाइँसराइ बढिरहेको बेला लामो प्रयासपछि पानीको सुविधा पुगेको हो । 

जलजला–८ का वडाध्यक्ष हरि विकास जिसीले वर्षौंदेखिको समस्या समाधानका लागि लामो समयदेखि नै प्रयास गरे पनि बल्ल सफल भएको बताए । लुप्राङ गाउँबाट करिब चार किलोमिटर टाढा रहेको जलजला गाउँपालिका–९ बनौँको लस्ती खोलाबाट पाइप बिछ्याएर पानी ल्याइएको हो । 

पाइपमार्फत ल्याइएको पानी अब एक लाख लिटर क्षमताको ‘रिजर्भ ट्याङ्की’ मा खसालेर टोलटोलमा वितरण गर्ने योजना रहेको उनले बताए । रु एक करोडभन्दा बढीको लगानीमा उक्त योजना सम्पन्न हुन लागेको हो ।  

“यहाँका बासिन्दा कुवाको भर पर्दै आएका थिए । गाउँको सबैभन्दा ठुलो समस्या नै पानी  थियो,” वडाध्यक्ष जिसीले भने । केही वर्षअघिसम्म लुप्राङमा करिब एक सय ३० घर भए पनि तीमध्येका करिब ४० परिवार पानीकै अभावका कारण बसाइँ सरेका छन् । स्थानीय हरिनारायण रेग्मीले वर्षौँदेखि पानीको प्रतीक्षामा बसेका लुप्राङवासीको मागको सुनुवाइ भएको बताए । अब  एक गाग्री पानीका लागि राति र दिउँसो कुवाको छेउमा लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य हुने उनको भनाइ छ । लस्ती खोलाको पानी लुप्राङमा ल्याउन प्रयास गरिए पनि एउटा वडामा रहेको स्रोत अर्को वडामा लगेर प्रयोग गर्नेमा राजनीतिक दलका प्रतिनिधिबिच सहमति नहुँदा गाउँमा पानी पुर्‍याउन ढिलाइ भएको थियो । अहिले सो विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिबिच सहमति भएपछि योजनाले पूर्णता पाएको हो । रासस।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्