बाँकेमा माइती नेपालको ३२ औं स्थापना दिवसमा विभिन्न कार्यक्रम

आइतबार, चैत २५, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । “हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मूल नाराका साथ स्थापना भएको माइती नेपालको ३२औं स्थापना दिवसको अवसरमा बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध नेपाल–भारत सीमा जमुनाहा नाकामा सामूहिक प्रतिबद्धता यात्रासहित पोष्टर पम्पलेट टाँस्नुका साथै बितरण गर्दै व्यानर प्रदर्शन गरिएको छ ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरमा चेतनामूलक सडक नाटक ‘भूल’ प्रदर्शन गरिएको छ । सडक नाटकमार्फत दलालहरुले के कस्ता तरिका अपनाई महिला तथा बालबालिकालाई झुक्याउँछन्, त्यस्ता दलालबाट कसरी बच्ने, स्थानीय सरकार एवं स्थानीय समुदायको भूमिका कस्तो हुनुपर्दछ भन्ने प्रष्ट्याइएको थियो । कोहलपुरस्थित समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापाको अगुवाईमा नाटक प्रदर्शन भएको थियो ।

नाटकको समापन कार्यक्रममा बोल्दै कोहलपुर १ वडा अध्यक्ष बद्रीप्रसाद जैसीले मानव बेचबिखन बिभिन्न माध्यमबाट दलालहरुले गरिरहेको हुँदा सबै सचेत भई यसबिरुद्व लाग्नुपर्नेमा जोड दिए । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले मानव बेचबिखन सबैको साझा समस्या भएकाले यस बिरुद्ध सबैको संयुक्त सक्रियता आवश्यक रहेको बताए। कार्यक्रममा कोहलपुर—१ का वडा सदस्यहरु शितली दमाई, कविराम पुलामी मगर, स्थानीय प्रहरी, युवा, बिद्यार्थी, संचारकर्मी समेतको उपस्थिति रहेको थियो ।

माइती नेपालले समुदायस्तरसम्म स्थानीय बिद्यार्थी, युवा, अभिभावक समेतको समूह गठन गरी थप सशक्तिकरण गरेर परिचालन, सरकारी तथा गैरसरकारी निकायहरु समेतको दायित्वबोध एवं क्रियाशिलतामा वृद्धि, अन्तरदेशीय संयन्त्र निर्माण एवं परिचालन गर्दै मानव बेचबिखनबिरुद्ध निर्मित ऐन नियमहरु समेतको आवश्यकता अनुसार परिमार्जन भएका ऐन नियमको प्रभावकारी कार्यान्वयनका लागि वकालत गर्ने लगायतका कार्यक्रम गर्दै आएको छ ।

२०४९ साल चैत्र २४ मा  “हाम्रो आवाजस्चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरु समुदायस्तरसम्म संचालन गर्नुका साथै नेपालका बिभिन्न नाकाहरुमा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिमपूर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्दार, भारत लगायतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्दार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगायत प्रदान गर्दै सीपमूलक तालिम, परिवार र समाजमा पुनर्मिलनका कार्य गर्दै आएको संयोजक कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्