सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । भ्रष्टाचार नयाँ वा पुरानो राजनीतिक दलले गरेको भनेर कसैलाई छुट नहुने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
महामन्त्री थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कानूनको शासन भन्दा माथि कोही पनि नहुने जिकिर गरे । उनले प्रश्न भन्दा माथि कोही पनि नेता नरहेको बताए । उनले शक्तिशालीले गरेको ठगी पनि ठगी नै हुने भएकाले शक्तिशालीलाई छुट दिन नहुने बताए । उनले सर्वसाधारणले गरेको कुनै कीर्ते कीर्ते नै हुने भएकाले शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुने बताए ।
महामन्त्री थापाले भने, ‘कानूनको शासनको लागि हामी उभिन्छौँ भन्नुको अर्थ प्रश्न भन्दा माथि कोही छैन । प्रश्न भन्दा माथि कोही शक्तिशाली पनि छैन । प्रश्न भन्दा माथि कुनै नेता छैन । प्रश्न भन्दा माथि नयाँ नेता पनि छैन, पुराना नेता पनि छैनन्। कोही पनि प्रश्न भन्दा माथि छैनन् । कोही पनि कानून भन्दा माथि छैन । यदि एउटा सर्वसाधारणले गरेको कुनै काम ठगी ठगी हो भने शक्तिशालीले गरेको पनि ठगी ठगी नै हो । यदि सर्वसाधारणले गरेको कुनै काम कीर्ते कीर्ते हुन्छ भने शक्तिशालीको गरेको कीर्ते पनि कीर्ते नै हुन्छ। एउटा सामान्य मान्छेले वडामा गएर सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यसले मन्त्री भएर यदि सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्छ भने त्यो भ्रष्टाचार नै हुन्छ । भ्रष्टाचार कांग्रेसले गरे पनि भ्रष्टाचार हुन्छ, एमालेले गरे पनि भ्रष्टाचार नै हुन्छ, माओवादीले गरे पनि भ्रष्टाचार नै हुन्छ,नयाँ पार्टीले गरेको भ्रष्टाचार पनि भ्रष्टाचार नै हुन्छ ।’
महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसले देशको उद्योग धन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिस्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए ।
उनले अहिले प्रधानमन्त्री, अर्थमन्त्री कम्युनिस्ट पार्टीकै भएकाले नयाँ उद्योग खोलेर देखाउन आग्रह गरे । उनले सरकारले उद्योग धन्दा गर्ने नभई निजी क्षेत्रले गर्नेमा कम्युनिस्टहरू जानकार रहेकाले पनि खोल्न नसक्ने बताए ।
उनले भने, ‘एउटा कम्युनिस्ट पार्टीको नेता, पूर्वप्रधानमन्त्रीले बेला बेलामा उभिएर के भनिदिनुहुन्छ भने कांग्रेसले उद्योग धन्दा बेचेर खायो भनिदिनुहुन्छ । ल अहिले कम्युनिस्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ, सबै कम्युनिस्ट पार्टीको सरकार छ । कांग्रेसलाई पटक पटक उद्योग कलकारखाना बेचेको आरोप लगाएको होइन, ल यसपालि बजेट तपाईँहरूले बनाउने, यसपालिको बजेटमा म सरकारलाई यहीँबाट सरकारसँग माग राख्छु, यो पटकको बजेटमा कांग्रेसले बेचेर खाएको हुनाले गर्दा तपाईँले यो पटक खोल्नुस् । नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस् । जुत्ता, रक्सी, सिमेन्ट, कपडा खोल्नुस्, एउटा खोलेर देखाओस् ल । तपाईँहरूको हातमा डाडु पनिउँ छ खोल्नुस् । उहाँहरूले खोल्नुहुन्न, उहाँहरूलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ ।’