'दयामाया होइन, सीप र रोजगारी दिउँ' भन्ने अभियान शुरु

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

रबिन्द्र घिमिरे (जानकी -बाँके) । बाँकेको  जानकी गाउँपालिकाले पालिकामा रहेका फरक क्षमता भएका व्यक्तिहरुलाई "दयामाया होइन, सीप र रोजगारी दिउँ"  भन्ने अभियान शुरु गरेको छ । गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि रोजगारको पहल कदम शुरु गरेको  छ ।

जानकी गाउँपालिकाले फरक क्षमता भएका व्यक्तिहरुलाई दयामाया नभई रोजगार बनाउन अभियान शुरु गरेको हो । गाउँपालिकामा ठूला उद्योगहरु धेरै रहेकोले फरक क्षमता भएका व्यक्तिहरुसँग पालिका, वडा तथा उद्योगबीचको अन्तरक्रिया कार्यक्रम गरी फरक क्षमता भएकालाई प्राथमिकतामा राखेर उनीहरुलाई दयामाया नभई, जस्तो उनीहरुको क्षमता छ, त्यसलाई नै पालिकाले सशक्तिकरणमा जोड दिएको महिला बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले बताइन् ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिलाएर सीप सिकाई उनीहरुको क्षमता वृद्धि भएमा अपाङ्गता भएकालाई क्षमताका आधारमा काम उपलब्ध गराउने सूर्य किरण पोलिमर्स ई प्रालि वडा नम्वर ६ जानकीका सञ्चालक जगदिश उप्रेतिले बताए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक सशक्तिकरणमा सघाउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई ल्याउनका लागि सबैको पहल र प्रयास हुनुपर्ने अपाङ्गता अधिकारकर्मी पूर्ण दृष्टिविहिन भावुकजंग थापाले बताए। गाउँपालिका अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन तथा उनीहरुलाई रोजगारीका लागि पहल गर्न प्रतिबद्ध रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए ।

गाउँपालिकाले उद्योगसंग समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरुलाई तालिम दिई रोजगार बनाउन पहल गरेको छ ।सामाजिक विकास समितिका संयोजक राम आचल धोवीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजन, कार्यपालिका सदस्य राजेन्द्र सिंह, उद्योगीहरु लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्