नेपालगञ्ज उपमहानगरले गर्यो 'विपद् व्यवस्थापनका अनुभव आदानप्रदान'

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट नेतृत्वको टोली र राष्ट्रिय  विपद जोखिम न्यूनीकरण प्राधिकरणका उच्च अधिकारीहरुबीच विपद् व्यवस्थापनका अनुभव आदानप्रदान गरिएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालय, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र र सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) का प्रतिनिधिसहितको टोली प्राधिकरणको भ्रमणमा गएको हो ।

त्यस अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको जिम्मेवारी रहेको भन्दै मुख्य कार्यान्वयनको काम पालिकाले नै गर्नुपर्ने धारणा राखे । उनले पालिका र प्रदेशलाई आवश्यक सहयोग गर्न प्राधिकरण सधैं तयार रहेको पनि बताए । यसैगरी प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले विपद् व्यवस्थापनका ऐन, कानुन, कार्यविधिहरुबारे भ्रमण टोलीलाई जानकारी गराएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा विपद्का घटना हुँदा नेपालगञ्जले स्टेशनका रुपमा काम गरिरहेको बताए । उनले भारतमा आगलागी हुँदा पनि पालिकाले दमकल र जनशक्ति पठाएर मद्दत गर्ने गरेको भन्दै पालिकालाई साधन स्रोत सम्पन्न बनाउन र क्षमता अभिबृद्धिमा सहयोग गर्न आग्रह गरे । यसअघि प्राधिकरणका अधिकारीहरुको टोलीले पनि नेपालगञ्ज उपमहानगरपालिकाको भ्रमण गरी विपद् व्यवस्थापनमा भएका कामहरुबारे जानकारी लिएको थियो ।

साथै ललितपुर महानगरपालिकामा विपद व्यवस्थापनका सिकाई आदानप्रदान पनि गरिएको टोलीमा सहभागी आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । कार्यबहाक नगर प्रमुखले टिमलाई स्वागत गर्दै महानगरपालिकाले सञ्चालन गरिरहेको दमकल सेवा, नगर प्रहरी सेवा, सरसफाई लगायतका विषयमा जानकारी गराउँदै आगामी दिनमा राम्रा अभ्यासहरुलाई दुवैले अनुशरण गर्न जोड दिइएको छ । टिमले दमकल सेवा, नगर प्रहरी सेवावारे प्रत्यक्ष अवलोकन समेत गरेको थियो । ललितपुर महानगरपालिकले पनि सोमबार नेपालगञ्ज उपमहानगरपालिका अवलोकन गर्ने कार्यक्रम तय भएको छ । साथै राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, राष्ट्रिय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको समेत अवलोकन गरिएको थियो ।

सिकाई आदानप्रदान कार्यक्रमको संयोजन (सुपर) ले गरेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा छ

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्