जिर्ण बनेको कारागारमा कैदीबन्दीलाई रात कटाउनै मुस्किल

शुक्रबार, चैत २३, २०८०
Neuro hospital Nepalgunj

बाजुरा । जिर्ण रहेको बाजुरा कारागार भवनमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा रात कटाउन नै मुस्किल बन्दै गएको छ। भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन् । 

अपराध गरेर सुधारका लागि बनाइएको कारागारको कैदीबन्दी भवन नै भूकम्पका कारण चिराचिरा परेपछि उनीहरु डरैडरले रात बिताउने गरेका छन् । 

विभिन्न अपराधमा संलग्न भएर अदालतबाट कैद सजाय पाइरहेका कैदीबन्दीले जेलभित्र बस्ने पर्याप्त भवन नहुँदा थप सास्ती भोग्दै आएका हुन्। वर्षौ पहिले बनेको तीनवटा भवन ढुङ्गाले छाएको, जीर्ण तथा झ्यालसमेत नहुँदा कष्टकर रात बिताउन सकस भएको छ । 

कैद भोगिरहेका उनीहरुले जेलभित्र पनि सहज रुपमा जीवनयापनको महसुस गरेका छैनन् । बस्नका लागि बास तथा शौचालयको अवस्था पनि निकै दयनीय छ । भवन अभावका कारण एउटा कोठामा २५ जना बढी कैदी उभिएरै रात कटाउने गरेका छन् । 

जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा सकस भएको कारागार प्रमुख हंसबहादुर बोहराले बताए । उनका अनुसार २५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले ७८ कैदी छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि उनीहरुलाई बस्नका लागि कोठाको व्यवस्थापन नहुँदा रातभर जागराम बसेर रात बिताउने गरेका उनको भनाइ छ ।

कैदीलाई भवनको व्यवस्थापन गर्न नसके कारागारभित्र रहेको खाली ठाउँमा त्रिपाल हालेर राख्नुपर्ने बोहराले बताए । 

कारागारको भवन निर्माणका लागि जग्गा भए पनि सरकारले कुनै चासो नदेखाएकाले दुःख पाएको कैदीबन्दीले गुनासो गरेका छन् । स्थानीय तह, प्रदेश तथा सङ्घका जनप्रतिनिधिलाई निरिक्षणका क्रममा भवन तथा कैदीको समस्या जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्