कटकुइँयाको सार्वजनिक पोखरीमा कुनै पनि संरचना निर्माण नगर्न अन्तरिम आदेश

बिहीबार, चैत २२, २०८०

नेपालगञ्ज ।  बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीमा कुनै पनि संरचना निर्माण कार्य नगर्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। अदालतमा आज भएको सुनवाईमा उच्च अदालत नेपालगञ्ज इजलासका न्यायाधिश टंकप्रसाद गुरुङ्ग र न्यायाधिश गोविन्द जोशीको संयुक्त इजलासले पोखरी भएको जग्गामा माटो लगायतका अन्य सामग्री पटान नगर्न नगराउन र कुनै पनि संरचना निर्माण नगर्न नगराउन आदेश दिएको हो ।

चैत ६ गते भएको सुनवाईमा अदालतले गरेको अल्पकालीन आदेशलाई नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । नरैनापुर–१ कटकुइँया निवासी सूचना अभियन्ता अरुण कुमार तिवारीले सार्वजनिक सरोकारको विषय भन्दै जिल्ला प्रशासन कार्यालय, नरैनापुर गाउँपालिका, वडा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।

विपक्षीले उक्त पोखरी भएको जग्गामा खाली देखेर सो स्थानमा विद्यालय लगायतका संरचना बनाउन निर्णय गरेको लगायत लिखित जवाफ अदालतमा पेश गरेको थियो । तर, त्यो कानुनसंगत नभई सार्वजनिक पोखरी, तालतलैया जस्ता स्थानलाई संरक्षण गर्नुपर्ने भएकाले त्यहाँ कुनै पनि संरचना निर्माण गर्न अदालतले रोकेको हो ।

अदालतमा आज भएको मुद्दाको सुनवाईमा निबेदकको तर्फबाट बरिष्ठ अधिबक्ता विजयकुमार गुप्ता, अधिबक्ता विश्वजित तिवारी, अधिबक्ता रामकुमार दिक्षित, अधिबक्ता केवलसिंह थारु, अधिबक्ता राकेश सोनी, अधिबक्ता पुनम श्रेष्ठ, अधिबक्ता विजयकुमार शर्माले बहस गरेका थिए ।

यसैगरी विपक्ष नम्बर १ र २ को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयबाट सहन्याधिबक्ता उमाकान्त पौडेल, विपक्ष नरैनापुर गाउँपालिकाको तर्फबाट अधिबक्ता लोकबहादुर शाह र अधिबक्ता बलबहादुर चन्दले बहस गरेका थिए ।

नरैनापुर–६ कटकुइँयामा कित्ता नम्बर २६५ को जग्गामा सार्वजनिक पोखरी रहेको छ । उक्त पोखरीको संरक्षण गर्न स्थानीय सरकारको दायित्व हो तर त्यसको संरक्षण नगरी पोखरीमा संरचना निर्माण गरी पोखरीलाई अस्तित्व विहिन बनाउन थालेको भन्दै स्थानीयले समेत पोखरीको संरक्षण सम्बद्र्धन गर्न माग गरेका छन् ।

परापूर्वकालदेखि रहेको पोखरीबाट त्यस क्षेत्रमा स्थानीयले स्वच्छ र स्वस्थ वातावरणको लाभ लिनुका साथै पोखरीको डिललाई बाटोको रुपमा प्रयोग गर्ने, पानीले सिंचाई गर्ने, गाईभैंसी, चराचुरुङ्गी जंगली र घरेलु जनावरले पानी खाने लगायतको कार्यमा पोखरीको प्रयोग गर्दै आएका छन् ।

उक्त पोखरी चमर गढहीको नामले प्रसिद्ध रहेको छ । पोखरी संरक्षणबिहिन अवस्थामा रहेकोले बर्षाको बेलामा चारै तिरबाट पानीसंगै माटो पनि बगेर आउने गरेकोले उक्त पोखरी बिस्तारै पुरिँदै गएको छ । जलवायु परिवर्तनको असर नेपालमा पनि परेको छ । पानीका मुहानहरु सुक्दै गइरहेको अवस्था छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्