प्रहरीको डीएसपी बढुवामा धेरै जालझेल

बिहीबार, चैत २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीको उपरीक्षक ( एसपी) बढुवामा भन्दा नायब उपरीक्षक (डीएसपी) बढुवामा अझ धेरै जालझेल भएको पाइएको छ। वरियता मिचिएर विवादित भएको एसपी बढुवा डिएसपी बढुवामा त जालझेल र विभागीय कारबाही भोगेकाहरूकै हालीमुहाली  भएबाट थप विवादित भएको हो।

बिहीबार मध्य राती प्रहरी प्रधान कार्यालयले १९ इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको हो। गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच बढुवा सूचीमा सहमति भएपछि बढुवा समितिको बैठक बसेर सिफारिस गरेको हो। यद्यपि सो सूचीमा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल तथा उनका पिए दीपक बोहराले समेत हस्तक्षेप गरेपछि विवाद सतहमा आएको हो। बोहराले सुदूरपश्चिमका शैलेश्वरी बोहरा लगायतलाई बढुवा पार्न सफल भएको स्रोत बताउँछ।

बढुवा सिफारिसमा परेकामध्ये भिषणबाबु राई, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, रणबहादुर चन्द लगायत कारबाही परेका अधिकृत हुन्। राई दरबारमार्ग हुँदा तथा घर्तीमगर नागढुंगामा कार्यरत रहँदा कारबाहीमा परेका थिए।

त्यस्तै चन्द र ओलीलाई पनि नसियत दिएकोमा बढुवामा पर्न सफल भएका छन्। ९८ प्रतिस्पर्धीमध्येबाट १९ जनाको बढुवा भएको हो। जसमा शक्तिकेन्द्रकै हालीमुहाली देखिएको छ।

८९ नम्बरमा रहेका राजन लामा एआईजी टेकप्रसाद राईको पिए भएकै आधारमा बढुवामा पर्न सफल भएका छन्। इन्सपेक्टर आधारभूत तालिम समेत दुई वर्षपछि गरेका थिए। त्यस्तै, ९५ नम्बरमा रहेका कमल खड्का त वैकल्पिकबाट पछि भर्ना भएका इन्सपेक्टर हुन्।

प्रहरी र नेपाल सरकारलाई नै मुद्दा हालेर भर्ना भएका उनी अहिले अरूलाई पछि पार्दै अगाडि बढुवा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले आयोगकै पावर लगाएर उनी बढुवा भएको चर्चा प्रहरीमा छ।हाम्राकुरा।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्