बाँकेका परीक्षा हलभित्र छिरेर परीक्षार्थीलाई आतंकित बनाउँदै सुरक्षाकर्मी

बिहीबार, चैत २२, २०८०
Neuro hospital Nepalgunj

बाँके  । अहिले देशभर एसईई परीक्षा चलिरहेको छ । चैत १५ गतदेखि सुरु भएको एसईई परीक्षा अब अन्तिम अन्तिमतिर छ । बाँकेमा भने यो पटक परीक्षा सञ्चालनका क्रममा केही अमर्यादित घटना बाहिरिएका छन् । संस्थागत ढंगले चिट चोराउने वातावरण निर्माण गर्ने र नतिजा राम्रो भएको देखाउँदै नयाँ विद्यार्थी आकर्षित गर्ने खराब मानसिकताले डोर्याएको पनि देखिएको छ ।

यतिसम्म कि सेन्टर किन्ने र सेटिंग मिलाउने भन्ने भाष्य त सामान्य नै बनिसकेको छ । भलै यो भाष्यको स्वतन्त्र ढंगले परीक्षण हुन सकेको भने छैन । परीक्षालाई हाउगुजीका रुपमा अथ्र्याउने, राम्रो ग्रेडका लागि विद्यार्थीमाथि दबाब बढाउने लगायतका गतिविधि पनि सामान्य जस्तै बनेका छन् ।

कम्तीमा दश बर्षको मेहनतको पर्दा उघार्ने परीक्षाका रुपमा लिइने एसईई परीक्षामा परीक्षार्थीले भयरहित, मर्यादित र स्वतन्त्र वातावरणमा लेख्न पाउनुपर्दछ भन्नेमा दुई मत छैन । तर, विज्ञान विषयका दिन नेपालगञ्जमा देखिएको अमर्यादित वातावरणले त्यसपछिका परीक्षा केन्द्रहरुलाई आतंकित बनाइदिएको तथ्य भने गम्भीर छ । जिल्ला प्रशासन कार्यालय बाँकेले परीक्षालाई मर्यादित बनाउन खेलेको भूमिका जति प्रशंसनीय छ, परीक्षा हलभित्रै जाँच दिइरहेका परीक्षार्थीहरुलाई उठाउँदै सुरक्षाकर्मीद्वारा खानतलासीको शैलीमा चिट बरामद गर्ने चेष्टा त्यत्तिकै निन्दनीय छ । बर्दीमा परीक्षा हलभित्र छिरेर प्रहरीले जसरी विद्यार्थीहरुलाई जबर्जस्त चिट चोर्न खोजेको तथ्य स्थापित गर्न खोजेको छ, त्यो एउटा परीक्षा हलभित्र ध्यानमग्न भएर लेखिरहेको परीक्षार्थीका लागि कति हतोत्साहित गर्ने परिवेश होला, हामी सहजै अनुमान गर्न सक्छौं ।

परीक्षाका निश्चित मर्यादाहरु छन्, ती मर्यादा उल्लंघन गर्नेमार्थि शिक्षा ऐन विपरीत कार्य गरेको अवस्थामा पक्राउ गर्न अनि अनुसन्धान गर्न मिल्छ । यसमा कसैको विमति रहने कुरै भएन । गेटबाटै छिर्दा पूरै शरीर खानतलासी गरिन्छ, मोबाइल पूरै ब्याण्ड छ (निरीक्षकलाई समेत), सिडिओ आफैं अनुगमनमा हिंडिरहेका छन् , परीक्षा समितिले निरन्तर अनुगमन गरिहेको नै छ, तर दलबलसहित प्रहरी परीक्षा हलभित्र छिरेर विद्यालयको नामै लिने अनि थर विशेष उच्चारण गर्दै आतंकिन बनाउने काम कुन कानुनको कुन धारा अन्तर्गत रहेछ भन्ने जिज्ञासा स्वभाविक हो । ध्यानमग्न भएर लेखिरहेको बेला ध्यान भंग गर्ने क्रियाकलाप कति शोभनीय हुन्छ ? विद्यार्थीहरुले लेखिरहेको बेला 'सिडिओसाब आउँदै हुनुहुन्छु भनेर पटक-पटक एउटै कुरा दोहोर्याएर निरीक्षक समेतले के सन्देश दिन खोजेको हो ?' एकोहोरो लेखिरहेको परीक्षालाई 'डिष्टर्ब' गर्ने अधिकार न प्रहरीलाई छ, न निरीक्षकहरुलाई नै छ ।

सिडिओसाबले परीक्षा मर्यादित बनाउन खेलेको भूमिका सराहनीय छ, परीक्षालाई 'परीक्षा' जस्तो बनाउन सिडिओसापले लिएको अग्रसरताको सबैतिर प्रशंसा भइरहेको छ । तर, सिंगो परीक्षा निरीक्षकहरुमाथि अविश्वास गर्दै बर्दीका प्रहरीद्वारा परीक्षा सञ्चालनकै दौरान खानतलासी गराउने तपाईंको कामलाई अबोध विद्यार्थी र अभिभावकहरुले कत्ति पनि रुचाएका छैनन् भन्ने हेक्का राख्न जरुरी छ । असल नियतले तपाईं अगाडि बढ्नुभएको होला तर परीक्षालाई मर्यादित बनाउने नाममा अबोध परीक्षार्थीलाई आतंकित बनाउने छुट कसैलाई छैन । सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र ऐच्छिक गणित विषयको दिन परीक्षा हलभित्र प्रहरीको क्रियाकलापले विद्यार्थीको मनोविज्ञानमा आघात पुगेको छ ।

परीक्षा चलिरहेको बेला विद्यार्थीलाई बाहिर निकालेर समेत खानतलासी गरेको गुनासो परीक्षार्थीले गरेका छन् । पटक-पटक खानतलासी गर्दा पनि चिट नभेटिँदा कुन सुराकी र के नियतले यस्तो गरिएको हो भन्ने गुनासो अभिभावकहरुको छ । परीक्षार्थीले मर्यादित ढंगले लेख्न पाउने स्वतन्त्रता हनन गर्ने अधिकार कसैलाई पनि छैन । हो, अमर्यादित काम गर्ने जोसुकैलाई छोड्न हुँदैन तर निर्दोष परीक्षार्थीलाई जबर्जस्त दोषी करार गर्ने शैलीमा भइरहेको काम सभ्य समाजका लागि स्वीकार्य हुने विषय होइन। तीन घण्टाको छोटो समयमा निर्धारित प्रश्नपत्र हल गरिरहेको परीक्षार्थीलाई हल्लाका भरमा आतंकित बनाइनुहुँदैन । विहिबार पनि नेपालगञ्ज केही परीक्षा हलहरुमा प्रहरीको भद्दा उपस्थितिले आफ्ना बालबालिकाको मनोविज्ञानमा असर परेको अभिभावकहरुले गुनासो गरेका छन् । अनिवार्य गणितको दिन पनि 'साइन्टिफिक क्याल्कुलेट'  लिन पाइने र नपाइने विषयमा आफ्ना बालबालिकालाई आतंकित बनाइएको अभिभावकहरुको दुःखेसो छ । 

केही परीक्षा केन्द्रमा एसर्ईई परिक्षा दिइरहेका विद्यार्थीहरुलाई अनुसन्धानका डिएसपीको नेतृत्वमा आतंकित पार्ने कार्य भएको अभिभावकहरुको गुनासो छ । नेपालगञ्जका केही सेन्टरहरुमा छापामार शैलीमा भित्र छिरी लेखिरहेका परीक्षार्थीलाई खानतलासी गर्दै अमानवीय व्यबहार अनुसन्धानका डिएसपी नेतृत्वको टोलीबाट भएको विद्यार्थीहरुले बताएका छन् । 

यतिमात्रै हैन परीक्षार्थीले पुलिसलाई हामीलाई डिष्टर्ब नगर्नुहोस् भन्दा उल्टै प्रहरीले प्रहरीको कुटाँँई याद गराउन नपरोस भन्ने धम्कीसमेत दिएको बताइएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्