डीएसपी ठगबहादुर भ्रष्टाचार मुद्धामा दोषी ठहर, २ वर्ष कैद

बुधबार, चैत २१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीका तत्कालीन डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत रहँदा सेवाग्राहीबाट लिएर राखिएको डीएसपी केसीको निवासबाट नगद र सुन बरामद गरेपछि उनलाई अनुसन्धान लागि नियन्त्रणमा लिइएको थियो ।

उनलाई  विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद सजाय तोकेको छ । विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले डीएसपी केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिबानाको फैसला गरेको हो ।

अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध गत भदौ १३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०७९ साल मंसिर २५ गते बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका केसीले सो बारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले दाबी गरेको थियो । 

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैँसँग राखेको अख्तियारको भनाइ थियो । त्यस क्रममा केसीले दुई जनासँग १८ लाख रुपैयाँ घुस लिएका थिए । 

केसीविरुद्ध अदालतमा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएका बुटवलका खिलेन्द्र सिंह जीसीलाई पनि विशेष अदालतले दोषी ठहर गर्दै साढे १ वर्ष कैद र ९ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवानाको फैसला सुनाएको छ । 

अभियोजनमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगरका जीसीविरुद्ध अख्तियारले विशेष अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्