इलाम- २ मा सत्ता गठबन्धनले एमालेलाई अप्ठ्यारो, कांग्रेस बलियो

शनिबार, चैत १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।   इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा बैशाख १५ गते उपनिर्वाचनका लागि सत्ता गठबन्धन दलकै फरक फरक उम्मेदवार भएपछि नेलपा एमालेलाई सकस परेको छ । विगतमा झिनो मतले जितेको एमालेलाई गठबन्धनमा रहेका दलहरुले उम्मेदवार उठाएपछि सकस परेको हो ।

नतिजा आफ्नो पक्षमा पार्न दलको विशेषता मात्र होइन उम्मेदवार पनि महत्वपूर्ण हुने भएपछि दलहरू उम्मेदवार छनोटमा निकै संवेदनशील देखिएका छन् । यसपल्ट नेपाली कांग्रेस चुनाव जित्नेगरी अघि बढेको छ । 

एमालेभित्रकै नेताहरु पहिचानको नाममा बाहिरिएका छन् । एमालेले यो क्षेत्रमा दिवंगत  नेता सुवासचन्द्र नेम्वाङकै कान्छा छोरा ३२ वर्षे सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । उनी अधिवक्ता हुन् । उनलाई पार्टीको केन्द्रीय कानून विभाग सदस्यमा मनोनित गरिएको छ ।  

भदौ २६ गते सुवासचन्द्रको निधन भएपछि बुबाले चुनाव जितेको क्षेत्रमा सुहाङ उम्मेदवार बन्ने चर्चा शुरु भइसकेको अवस्थामा पार्टीका कयौँ नेताहरुलाई छाडेर एमालेले उनलाई उम्मेदवार बनाएको थियो । सरकारमा सहभागी भएको रास्वपा र एकीकृत समाजवादीले आफ्नो उम्मेदवार बनाएर निर्वाचनमा होमिएका छन् ।

एमालेको तर्फबाट जिल्लाबाट छ जनाको नाम सिफारिस भएकामा सुहाङ उम्मेदवार बनेपछि कतिपय नेता कार्यकर्ताले पचाउन सकिरहेका छैनन । कतिपयले बुबाकै क्षेत्रमा छोरालाई उम्मेदवारका रूपमा ल्याउनुलाई ‘वंशवाद’को संज्ञासमेत दिएका छन् ।

‘सुहाङका लागि पार्टी नै चुनौती बन्न सक्ने विश्लेषण गर्न थालिएको छ । नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले त्यस क्षेत्रमा आँखा लगाएको भए पनि एमालेले एक्लै उम्मेदवार घोषणा गरेपछि भने सत्ता गठबन्धनमा खटपट आएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३२ वर्षे मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । उम्मेदवार बन्न छ जनाले निवेदन दिएकामा पाँच जनाले फिर्ता लिएपछि मिलन उम्मेदवार बन्ने टुंगो भएको रास्वपाले जनाएको छ । 

डेढ दशकदेखि पत्रकारितामा क्रियाशील मिलन इलामकै माङ्सेबुङ गाउँपालिकाका बासिन्दा हुन्। उनी नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को महासचिव थिए । 

नेकपा (माओवादी) निकट पत्रकारको संस्था प्रेस सेन्टर नेपालमा रहेका लिम्बूले केही साताअघि आफू कुनै पार्टीमा नभई स्वतन्त्र रहेको घोषणा गरेपछि उनलाई कारबाही गरिएको छ ।

उनी आफूलाई यो निर्वाचन क्षेत्रको ‘माटोको उम्मेदवार’ दाबी गर्छन् । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका जिल्ला सचिवालय सदस्य जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । 

राई इलामकै माइजोगमाई गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् । उनी लामो समय एमालेमा क्रियाशील थिए । पार्टी विभाजनपछि मात्रै नेकपा एसमा लागेका हुन् । 

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष विजयी बनेका राई ०७९ सालको निर्वाचनमा पनि तत्कालीन गठबन्धनबाट अध्यक्षकै उम्मेदवार थिए । तर एमाले उम्मेदवार कुशबहादुर थेबेसँगै पराजित भए । 

विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय राईले राष्ट्रिय युवा सङ्घमा पनि लामो समय काम गरिसकेका छन् । नेकपा एसकै भए पनि जिल्लामा उनको राम्रो छवि रहेको छ । 

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले ६८ वर्षे डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् । 

विभिन्न ४१ संस्थाले उनलाई साझा उम्मेदवार बनाएका हुन् । किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खासहितका संस्थाले उनलाई समर्थन गरेका छन् । 

थेगिम कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै आन्दोलनरत अभियानका अध्यक्ष पनि हुन् । २०३४ सालदेखि शिक्षण पेशामा रहेका थेगिम २०६३ देखि ०७२ सालसम्म स्रोत व्यक्ति थिए । एमालेमा आबद्ध उनले उम्मेदवार बन्ने भएपछि केही साताअघि एमाले छोडेर पहिचान पक्षमा भन्दै उम्मेदवार घोषणा गरेका हुन् । 

उनले अहिले यो क्षेत्रमा अरु स्वतन्त्र उम्मेदवार पनि नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने बताएको छ । 

गुरुङ ०५६–०५७ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, मरब क्याम्पसको अध्यक्ष थिए ।  ०६४–०६५ सालमा राप्रपा युवक संगठन अध्यक्ष भएका उनी त्यसपछि पार्टी जिल्ला सदस्य हुँदै ०७८ सालयता केन्द्रीय शिक्षा विभाग सदस्य छन्। 

यो क्षेत्रमा पहिचानवादीकै दाबी गर्दै प्रेमदीप लिम्बूले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

उता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाउन बाँकी छ । कांग्रेस जिल्ला समिति बैठकले भेषराज आचार्य, केशव थापा, डम्बरबहादुर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राईको नाम प्रदेशमा सिफारिस गरे पनि अहिलेसम्म उम्मेदवारको निर्णय भएको छैन । 

०७९ को निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी भएका छन् । 

निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याएका थिए। 

रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए । समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए । 

यसरी हेर्दा यस पटक एमालेको भन्दा कांग्रेसको पल्ला भारी देखिएको छ । जिल्लामा कांग्रेसकै नेताहरुले आफ्नो जीत सुनिश्चित रहेको बताउन थालेका छन् । लामो समयदेखि जनताको घर दैलोमा पुगेका कांग्रेस जनहरुले अहिले थोरै मेहनत गरे पुग्ने र यसलाई अवसरको रुपमा लिनुपर्ने बताइरहेका छन्। हाम्राकुरा।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्