६ छोरा मध्ये ५ जना अवैध बाटो हुँदै अमेरिका गएपछि के भन्छन् आमाबुवा...

मंगलबार, चैत १३, २०८०

तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिका -२ स्थित एकै गाउँका १०१ जना अमेरिका गइसकेको र अझै थप ४० जना अमेरिका जानलाई अवैध बाटो भएर बिचमै रहेको पाइएको छ।

आफ्ना सन्तानहरु अमेरिका गइसकेपछि नेपालमा बस्दै आएका उनीहरुका आमाबाबुको अवस्था र सन्तानका बारेमा आमाबाबुले के सोचिरहेका छन् ? के भन्छन् त उनीहरु? 

खड्ग र लालमति वलीका ६ भाइ छोरामध्ये  चार भाइ तल्लो बाटो हुँदै अमेरिका पुगिसकेका छन् भने हाल कान्छा चेतनपनि सोही अबैध मार्ग हुँदै अमेरिका जान बाटोमा छन् । काठमाडौंमा अध्यनरत काँँइला धर्मबहादुरले पनि अमेरिका जाने कुरा गर्न थालेको छन् ।

यो परिवार भित्रकै नजिकका आफन्तसमेत गरि १२ जना अमेरिका पुगि सकेका छन् ।

२०७२ सालमा सुरुमा माइला खिमबहादुर झन्डै ४८ लाख एजेन्टलाई खुवाइ अमेरिका पुगे । उनी ६ बर्षपछि बिदामा घर आए ।

माइला पछि साँइला डिल्लीबहादुर ५० लाख खर्चिएर दुई बर्षको भगिरथ प्रयास पछि अमेरिका छिरे । जेठा देबेन्द्रपनि अमेरिका सपना पच्छयाउँदै एक बर्ष पहिले उसै गरि अमेरिका पुगे। देबेन्द्रले पनि ५० लाख खर्चे ।

त्यस पछि राँइला राजन (डिल्लीजंग) गत बर्ष चैतमा अमेरिकाको बाटो लागे । उनी त्यहाँ पुगेको दुई महिना अघि मंसिरमा हो । एजेन्टले जति पछि उति धेरै अशुल्दै छन् । राँइलो छोरा पुग्दा ६५ लाख बढी खर्च लागेको बुवा खड्गले बताए।

कान्छा चेतन बाटोमै छन् । ‘जहाँज(अग्ला)बाट गए ७० देखि ७५ लाख मागेका छन् रे,’ आमा लालमितले भनिन् । लालमतिले बोल्दै गर्दा खड्ग बीचमा बोले । दलालका कुरा नलेखिदिन आग्रह गरे । त्यसो गर्दा बाटोमा रहेका छोरालाई समस्या हुने चिन्ता ब्यक्त गरे ।

यतिखेर पश्चिम दाङकै र चिनजाका एजेन्टले चेतनलाई अमेरिका पठाइ रहेका छन् ।

यहाँ एउटा अमेरिका पुगेपछि अर्कौलाई तान्ने क्रम एउटा चक्र जस्तै घर परिवार र आफन्तका बीचमा चल्दै आएको छ । लहडै लहडमा ऋण साहु गर्दै, जग्गा जमिन धरौटीमा राखेर बैंकबाट लाखौं झिकेर त्यो रकम एजेन्टलाई बुझाई युवा अमेरिका भासिने क्रम बढ्दै गएको एक स्थानीयले बताए ।

अमेरिका भनेपछि आफन्त, चिनजानका मान्छे मात्रै हैन बैंकपनि सहजै ऋणदिन राजी हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा उनले बताए ।

कान्छो छोरा चेतन पनि अमेरिका जान हिडेपछि आमा लालमतिको मनमा आशंकाको आँधिहुरी मडारिन थालेको छ ।

‘कान्छोलाई मलाई पाल्न फर्कि आउँदैनन् भन्दा आमा म पैंशा कमाउँछु र तपाँईलाई पाल्न आउँछु भन्छ,’ लामतिले भनिन् ‘ अमेरिका पुगेपछि ऊ पनि नफर्किने हो कि भन्ने लाग्छ , म त कान्छाको मायाले रुन्छु।’

बोल्दा बोल्दै लालमतिका आँखा आँगनबाटै देखिने र बर्षामा बौलिने सम्मुख पूर्वको ‘बौलाहा खोला’को भेल जस्तै छताछुल्ल भइ सकेका थिए। छोरा प्रतिको उनको अगाध माया आँखाबाट छछल्किरहेको थियो ।

‘मेरो अन्तिमको पेट पुछुवा छोरा उस्ले मैले जे खायो उही खान्थ्यो आज के खाँदै होला,’ आँशु पुच्छ्दै बोलिन ‘ भिडियोमा कुरा गर्दा आमा जे लगाउन मन छ सबै कपडाहरु किनेर लगाउनु भन्छ, के उस्ले भनेझैं छोरा नभइ राम्रा कपडाले मात्रै एउटी आमाको मनमा शान्ति मिल्छ र ?’

उनले सञ्तान संगै नभइ एउटी आमाको मनमा शान्ति नहुने कुरा दोह¥याएकी थिइन ।

अमेरिका छिरेपछि दाइले जस्तै ग्रिनकार्ड पाइहाल्छु केही चिन्ता नमान्न आमा लालमतिलाई संझाउने प्रयास नगर्ने होइनन् । तर, छोराले जे कुरा गरेपनि लालमतिको मन आत्तिरहन्छ ।

मन आत्तिदा र नियास्रो मेट्न सामाजिक संजाल फेस बुकमा छोराहरु संग भिडियोमा कुरा गर्ने गरेको खड्गले बताए । ‘भिडियो कल गरेपछि नजिक भए जस्तै लाग्छ,’ खड्गले भने ‘त्यैले माया बिर्सने हुने रहेछ।’

खड्गले स्वदेशमै काम गर्न लाज मान्ने र बिदेशमा पैंशाकै लागि जस्तो सुकै काम गर्न तयार हुने सोचले कुनैदिन देश बर्बादिको दिशामा पुग्न सक्ने चिन्ता जाहेर गरे । ‘यहाँ बसी केही नगर्ने बिदेशमा जस्तो कामपनि गर्ने गर्छन ,’ खड्गले भने ‘ महेनत गर्नेले यही पनि रामै्र गरेकापनि छन् ।’

‘ हाम्रो त ऋण कर्जपनि थिएन गुजारा एक मानो खाने जुटाएकै थियौं,’ बीचमै लालमतिले बोलिन ‘अझैं आँफै मेहनत र दुःख गर्ने राम्रो लाग्छ।’

सम्पत्ति भएपनि अबका तन्नेरीले गाइ भैंसी पाल्न, हलो जोत्न नमान्ने गरेको लालमतिले बताइन ।

उनीहरुले आफ्नो साढे दुई बिगाहा जतिको जग्गा जमिन आजपनि आँफैले लगाउने गरेको बताइन। लालमतिले पनि हात खुट्टा चल्दासम्म काम गर्न नछोड्ने बताइन ।

दुई बर्ष अघि छोराले अमेरिकाबाट पठाएको झन्डै ८२ लाखमा दश कठ्ठा बारी थपेको कुरापनि खड्गले छिपाएनन् ।

‘पुरानौं घर औंल्याउँदै हाम्रो कमाइले हालेको घर त उ त्यो पुरानो हो ,’ खड्ग बोले ‘ यो घर उनीहरुकै कमाइले बनेको हो ।’

सबै छोरा अमेरिका गए उतैको ग्रिनकार्ड लिए र बुहारी बालबच्चापनि उतै बोलाए भने के हुन्छ ? यो प्रश्न पुरा नुहँदै आमा लालमतिले शंका उब्जियो । ‘त्यतिखेर यो ठूलो घरले तर्साउने त होला,’ लालमतिले भनिन् ।

दुर भविश्यको चिन्ता उनले ब्यक्त गरिन । लालमतिले आशंका थियो – कतै भविश्यमा यो घरमा बुढा बुढी मात्रै एक्लै बस्नु पर्ने त होइन ?

‘ एक घरमा बुढा बुढी एक्लै फेन्ट भइ मरेका थिए रे, अघि बुढा मरेपछि बुढी मरिछन, हाम्रा कान्छा देवरले भाउजु त्यस्तै हुन्छ भन्नु हुन्छ,’ उनले भनिन्।

लिलामतिका अनुसार ६ भाइ छोरा सबैलाई उनले घरमै जन्म दिएकी हुन । उनीहरुलाई कहिलै ओखती मुलोपनि गर्नु परेन । धन मात्रै हुने तर सञ्तान साथमा नभए त्यसको कुनै अर्थ नहुने लालमतिलाई लाग्छ ।

६ भाइ छोरा मध्य पाँच भाइ एक पछि अर्कौ गर्दै सपनाको देश पच्छ्याउँदै भुरुरु चराका बच्चा उडेझैं गुँड छोडेर बिदेशीएकोमा लालमतिलाई पटक्कै निको लागेको रहेन छ ।

‘एउटी छोरी जन्मिएकी भए कम्तिमा यही त बस्थि होली, बिहे भइ गएपनि माइती आउँदा आमा भन्दै आउँथी होली भन्ने आज मलाई लाग्न थालेको छ,’ लालमतिको छाति छोराको ममताले पहराको मुलझैं रसाएको आभास हुन्थ्यो ।

छोराहरुले कुनैदिन अमेरिका बोलाइ हालेपनि घुम्नका लागि मात्रै जाने तर बस्न तथा त्यहाँ काम गर्नका लागि नजाउने खड्ग र लालमति स्पष्ट पारे।

‘भैंसीको दूध बेचेर महिनामा सात आठ हजार आयो भने आजपनि आँफुलाई त्यही ठूलो लाग्ने गर्छ,’ खड्गले भने । भैंसी पाल्दो दुःख भए नपालौं भन्ने कुरा बुहारीले गर्दै आएको भएप्नि आँफुहरुले नै नमानेर पाल्दै आएको लालमतिले बताइन ।

चार छोराले अमेरिकाबाट कति पठाउँछन ? लालमतिले फ्याट्टै बोलिन – ‘अब त काम पाउनै मुस्लिक हुन थालेको छ भन्छन् छोराहरु । हाम्लाई उनीहरुको पैंशा केही चाहिएको छैन । उनीहरुले जाँदा लगाएको ऋण तिरुण र आँफुहरु सकुशल फर्किउन, तिनका छोरा छोरी पढाए पुग्छ।’

खड्गले पनि पछिल्लो समय काम पाउन मुस्किल हुन थालेको कुरा छोराहरुले गर्न थालेको बताए । खड्गले भने –‘तीब्र प्रतिपर्धा र होडबाजीले गर्दा काम पाउन मुस्किल हुन थालेको तथा कमाई पनि घट्दै गएको कुरा छोराहरुले गर्न थालेका छन् ।’

यही पुसमा माइला छोराले बिहे गरे । जेठा र साँइलाको पनि बिहे भइसकेको छ ।

‘ आफ्नै देशमा बस्ने हो यही केही गर्ने हो भनेर मैले छोराहरुलाई मनाउन खोजेकै हो,’ खड्गले भने ‘ जति भनेपनि त्यो अर्काको देश हो भनेर भन्दै आएका छौं ।’

पुसमा बिहे गरेका छोरापनि बिदेश गइ सकेका छन् । तर, जेठाले भने कमाए पछि फर्किए आफ्नै गाउँ घरमा फर्किने कुरा गर्दै आएका रहेछन् ।

‘जेठाले अलि जग्गा हेर्दै गर्नुहोला बुवा भन्दै आएको छ,’ खड्गले भने ‘जमिन जोतेर आफ्नै गाउँ ठाउँमा बस्नु पर्छ भन्छ।’ छोराहरुले आँफु संग अमेरिका आउने ठाउँ त रहेन छ भनेर भन्ने गरेको पनि आमा लालमतिले बताइन ।

कुराको बिट मार्दै गर्दा बुवा खड्गले गम्भीर सवाल सोधे – ‘अमेरिका पलायनले हाम्रा सन्ततिको ज्ञान भरि मर्ने भयो, ज्ञान बिनाको पैंशा मात्रै के गर्नु ?’ जस्को जबाफ दिन सहज थिएन ।

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्