संगीतकार सन्तोष श्रेष्ठले दोस्रोपटक विश्व रेकर्ड राख्न सफल

बिहीबार, चैत ८, २०८०
Neuro hospital Nepalgunj

बाँके  । दङ्गाली श्रष्टा संगीतकार तथा गायक सन्तोष श्रेष्ठले दोस्रोपटक विश्व रेकर्ड राख्न सफल भएका छन् । श्रेष्ठले पहिलोपटक ५० देशका ५० भाषामा संगीत गरिएको 'ढुकढुकी भित्र तिम्रो.....' बोलको गीतबाट गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम समाबेश गर्न सफल भएका थिए । 

संगीतकार श्रेष्ठले विश्वको सबैभन्दा अग्लो स्थानमा वाद्यवादन सहितको प्रत्यक्ष गायन र म्युजिक भिडियो छायांकन गरिएको गीत 'तिलिचो ताल.....' बाट फेरि गिनिज बुक अफ वर्ल्ड रेकर्डको दोस्रो प्रमाणपत्र प्राप्त गरेका हुन् ।

'तिलिचो ताल' गीतमा शब्द डि.आर. उपाध्यायको रहेको छ भने संगीत सन्तोष श्रेष्ठ र स्वर सागर अधिकारीको रहेको छ । यो गीत मनाङ जिल्लामा रहेको तिलिचो ताल भन्दा माथि ५ हजार १०५ मिटर उचाईमा प्रत्यक्ष वाद्यवादन, गायन, रेकर्डिङ र छायांकन गरिएको हो । यो बिधामा २०७४ असोज १० गते ४ हजार ७ सय ६८ मिटर उचाईमा माधव खरेल लगायतको समूहले पहिलोपटक कीर्तिमान राखेको थियो । त्यसपछि सञ्चबहादुर राई लगायतको समूहले ४ हजार ८ सय १३ मिटर उचाईमा छायांकन गरेर खरेल समूहको कीर्तिमान भङ्ग गर्न सफल भएको थियो । उक्त गीत २०७९ बैशाखको ९ गते ५ हजार १ सय ५ मिटर उचाईमा रेकर्डिङ र छायांकन गरिएको थियो ।

श्रेष्ठले संगीत दिएको संचारकर्मी लोकराज अधिकारीको शब्द रहेको 'तिमीले पराई ठानेपछि....' गीतले सबैभन्दा धेरै पटक सिआरबिटि र पिआरबिटि डाउनलोडको रेकर्ड पनि राखेको थियो । त्यस्तै पछिल्लो समय सन्तोष स्वयंले संगीत र स्वर दिएको महाकवि लक्ष्मी प्रसाद देवकोटाको शब्दमा रहेको 'आकाशमा शशी छन्.....' बोलको गीत पनि निकै चर्चामा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्