गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसमा फलफूल वितरण

बुधबार, चैत ७, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले भेरी अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरेको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १४औं स्मृति दिवसमा कांग्रेसले आज विहान फलफूल वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले नेपाली राजनीतिमा कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै उनलाई शान्ति नायकका रुपमा चित्रण गरे । संघीय लोकतान्त्रिक गणतन्त्रका नायक मानिने कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई दिगोरुपमा व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ। गिरिजाप्रसाद कोइरालामा जस्तो दृढ राजनीतिक इच्छाशक्ति अहिलेको पुस्तामा पनि आवश्यक रहेको अधिकारीको भनाई छ ।

कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्की, भेरी अस्पतालका अध्यक्ष विरेन्द्र बहादुर शाह, प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा। पवनजंग रायमाझी लगायत कांग्रेस नेता कार्यकर्ता उपस्थित थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । भेरी अस्पतालमा उपचाररत १०० जना विरामीलाई फलफूल वितरण गरिएको नेपाली कांग्रेस बाँकेका कार्यालय सचिव अमित कँडेलले जानकारी दिए ।

गिरिजाप्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि।स। १९८१ असार १८ मा जन्मेका हुन् । गिरिजाप्रसाद कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुन् । उनको जन्म हुँदा उनका बुबा–आमा निर्वासित जीवन बिताइरहेका थिए । उनी चार पटक नेपालको प्रधानमन्त्री भएका थिए । उनका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला पनि नेपालका प्रधानमन्त्री भएका थिए । कोइरालाको निधन २०६६ साल चैत्र ७ गते ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो ।

सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई एक निर्भिक र निडर नेताका रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्