गृहमन्त्रीमाथि छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत्

बुधबार, चैत ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । सुर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यथावत् राखेको छ । आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने आफूहरूको माग यथावत् रहेको बताएकी हुन् । 

उनले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने कांग्रेसले संसद अवरोध गरेको नभई सरकारले नै गरेको हुने बताइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताइन् ।

उनले भनिन् – ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडी संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रस्तुत हुनुभयो । पेट काटेर चार–चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन? राज्यको कानूनप्रतिको खेलबाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यू । प्रधानमन्त्रीले बोल्नुभयो हिजो केही प्रमाण छैन । केही हिनामिना छैन । अनि उही केसमा एक जना दीपेश पुन पक्राउ पर्ने, अरू पक्राउ पर्ने ऊ नपर्ने ? उनले गृहमन्त्रीको पद खाइराख्नुपर्ने, हामीले हेरिराख्नु पर्ने ? अझ गैर जिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् । हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता? प्रतिपक्षले संसद बन्दा खेरी सरकार चल्छ? त्यो कदापि पनि हुन सक्दैन ।’

उनले गृहमन्त्री रवि लामिछाने पटक–पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न रहेको बताइन् । उनले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौती दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने समेत बताइन् । 

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:१०
प्रतिक्रिया दिनुहोस्