नेपालगन्ज मेडिकल कलेजमा पहिलोपटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको शल्यक्रिया

सोमबार, चैत ५, २०८०

नेपालगन्ज ।  पहिलोपटक  नेपालगन्ज मेडिकल कलेजमा अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमै जटिल खालको यो शल्यक्रिया नेपालगन्जमा सम्भव भएको जनाएको छ ।

नेपालगन्ज उप-महानगरपालिका-११ का रेखा कश्यप र वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतकी दीपा गौतमको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।

एक हप्ताको बीचमा अस्पतालमा दुई वटा अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंको सहकार्यमा मेडिकल कलेजमा न्यूरो साइन्स विभाग संचालनमा आएपछि जटिल खालका शल्यक्रिया सम्भव भइरहेका छन् ।

न्यूरोसर्जन डा.मनिष कोलाक्षपति, डा.निरज घिमिरे, डा.सुबोध गौतम, डा.उपमा शर्मा र एनेस्थेसिया विभागबाट डा.नवीन कुमार रेग्मी, डा.कपिल पोख्रेल लगायतको टिमले शल्यक्रिया गरेको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्