जोगबुढा अस्पतालले नयाँ भवनबाट सेवा दिने तयारी गर्दै

सोमबार, चैत ५, २०८०
Neuro hospital Nepalgunj

कैलाली । डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी अस्पताल प्रशासनले थालेको छ । 

शहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार पुनःम्याद थप नहुने भएकाले निर्माण कम्पनीले दिनरात काम गरिरहेको छ । पन्ध्र शय्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ । अहिले भवनमा रङगरोगनको काम धमाधम भइरहेको छ । कैलाश निर्माण कम्पनीसँग चारवर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटबाहेक रु. १३ करोड ६८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार  अस्पताल भवन २०७९ वैशाख १४ मा निर्माण पूरा गरी हस्तान्तरण गर्नुपर्ने थियो तर निर्धारित समयमा काम पूरा नभएपछि निर्माण कम्पनीलाई २०८० साउन २४गतेसम्मको म्याद दिइएको थियो । यसै महिनाभित्र काम पूरा गर्न अन्तिमपटक म्याद थप भएकाले निर्माण कम्पनी रातदिन काममा जुटेको हो ।

उक्त अस्पतालबाट जोगबुडाको परशुराम नगरपालिका, भागेश्वर र आलितालगाउँपालिकाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् ।

यसैबीच, महाकाली अस्पतालको भवन निर्माण पनि तीव्र गतिमा भइरहेको छ । आगामी  दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी रु. १४ करोड ३८ लाख २६ हजारमा  जीके ओआई जेभीसँग ठेक्का सम्झौता भएको छ । रासस।

 

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्