नेपालगन्जबाट करोडौं रुपैयाँ बरामद प्रकरण: हुण्डीदेखि अनलाइन जुवामा बैंकको प्रयोग 

शुक्रबार, चैत २, २०८०
Neuro hospital Nepalgunj

बाँके । जिल्ला प्रहरी बाँकेले नेपालगन्जमा लगातार दुई दिनमै श्रोत नखुलेको १ करोड ५६  लाख रुपैयाँ बढी बरामद गर्दै ८ जनालाई पक्राउ गर्न सफल मानिएको छ। बाँके प्रहरीले बरामद गरेको उक्त श्रोत नखुलेको करोडौं रुपैयाँ प्रकरणबारे केही तथ्यहरु फेला परेका छन् । जिल्ला प्रहरी बाँकेको विशेष अपरेशनबाट दुई वटा छुट्टाछुट्टै घटनामा बरामद भएको १ करोड ५६ लाख २८ हजार ३ सय रुपैयाँ र पक्राउ परेका ८ जना बारे  थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाइएको छ। 

बाँके प्रहरी र राष्ट्रिय अनुसन्धान टोलीले गरेको संयुक्त अपरेशनमा आइतबार नेपालगन्ज- ४ न्यू रोडमा एक गिरोहले सुन पसलको नाममा एक सटरमा लामो समयदेखि गैरकानुनी रुपमा दैनिक करोडौं रुपैयाको कारोबार गरिरहेका दुई जनालाई झोलामा पैसा बोकेर बैंक जाँदै गरेको अवस्थामा धम्बोझीबाट लाखौं रुपैयाँसहित पक्राउ गरेको थियो।

पैसा बोक्ने भरियाको रुपमा १६ लाख ९४  हजार रुपैयाँ बोकेर बैंकतर्फ जाँदै गर्दा बारबर्दिय-२ की पूर्णिमा चौधरी र बर्दिया राजापुर-११ का २० वर्षीय अनुप थारुले बोकेको झोलाबाट २१ लख ७० हजार बरामद गरेको बाँके प्रहरी  लगत्तै सोही गिरोहका नाइके  नेपालगन्ज-१६ जयपुरका ३६ वर्षीy हबिब अहमद जसगढलाई पनि प्रहरीले पक्राउ गरेको हो। 

केही दुरी बनाएर बैंकतर्फ लाखौं रुपैयाँ जम्मा गर्न जाने क्रममा अर्को समूहमा रहेका सिता केसीले बोकेको झोलामा करिब २५ लाख पैसा रहेको र पसल तथा पैसाको गैरकानुनी कारोबारमा संलग्न समूहमा अर्का सदस्य नेपालगन्ज-१६ जैयसपुरका एजाज हुसेन दुबै जना घटनास्थल नजिकै पसलबाट भाग्न सफल भएका थिए ।

प्रहरीले उनीहरुलाई लाखौं रुपैयाँसहित नियन्त्रणमा लिएपछि  पसलमै रहेका एजाज हुसेनले थाह पाए लगत्तै पसलको सटरमा ताला लगाएर फरार भएका हुन्  ।

प्रहरीले उक्त घटना लगत्तै सटरमा सिल गरेर घटनाको थप अनुसन्धान कार्यको अगाडि बढाएको थियो । बाँके प्रहरीले उक्त घटनाको थप अनुसन्धान गर्न   प्रहरी निरिक्षक निरञ्जन घिमिरेको नेतृत्वमा एक टोली गठन गरेर घटनाको अध्ययन तथा कारबाही  प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी बाँकेए जनाएको छ।

पक्राउ परेकाहरु हुण्डी कारोबारमा संलग्न रहेको रहेको जानकारी पाए लगत्तै अर्को दिन सोमबार बाँके प्रहरीले गरेको अर्को अपरेशनमा नेपालगन्ज बसपार्कस्थित दुई होटेलमा छापा मार्दा १ करोड १५ लाख रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो।

प्रहरीले बसपार्कको होटेल कालिकाबाट हुण्डी कारोबारमा संलग्न नेपालगन्ज-१६ जयस्पुरका एकै घरका बाबु सलिम जोलाह र छोरा हासिफ अन्सारीबाट ४ लाख ४० हजार भारतीय रुपैयाँ  र ३४ लाख नेपाली रुपैयाँसहित ४१ लख ४ हजार बाँके प्रहरीले  नियन्त्रणमा लिएको थियो ।

त्यसको केही बेरमै प्रहरीले बसपार्ककै अर्को होटेल  सन्तोष दंगालीबाट भारतको रुपइडिहाका राहुल जैसवाल, दाङको तुल्सीपुर घर भएर हाल नेपालगन्जमा होटेल सञ्चालन गर्ने कृष्ण बिक र नेपालगन्जका रोहीत क्षेत्रीबाट ११ लाख भारतीय रुपैयाँ र ५७ लाख २८ हजार ७ सय रुपैयाँ बरामद गर्दै तीनै जनालाई पक्राउ गरेको थियो।

प्रहरीले बसपार्कको होटेलबाट बरामद गरेको करोडौं रुपैयाँ मध्ये भारतबाट काम गरेर फर्किएर होटेलमा बास बसेका केही व्यक्तिहरुले होटेल साहुलाई राख्न दिएको तथ्य फेला परेपछि बाँके प्रहरीले पीडितहरुलाई करिब ७ लाख ९९ हजार नेपाली रुपैयाँ  फिर्ता दिएको जनाएको छ।

त्यसैगरी बाँके प्रहरीले बरामद गरेको श्रोत नखुलेको करोडौं रुपैयाँका बारेमा थप कारबाही तथा अनुसन्धानका लागि राजश्व अनुसन्धानमा पठाएको हो।

पहिलो दिन बरामद भएको लाखौं रुपैयाँ  सुन तस्करीसंग सम्बन्धित

न्यूरोडबाट एक जना साझेदार मालिक र दुई जना भरीयासहित बरामद भएको ३९ लाख २० हजार रुपैयाँको अनुसन्धानका क्रममा बाँके प्रहरीले  सोमबार निजहरुले सञ्चालन गरेको सटरमा सिलबन्दी ताला खोलेर हेर्दा पसलको काउन्टरमा थप ९ लाख ७२ हजार ८ सय रुपैयाँ , गैर कानुनी कारोबारमा प्रयोग हुने गरेका बिभिन्न बैंकका शंकास्पद भौचरहरु र लक लगाएको अवस्थामा पैसा राख्ने तिजौरी फेला पारेको थियो ।

प्रहरीले सटर खोलेर हेर्दा सटर भित्र रहेको तिजौरी बन्द रहेको र उक्त पसलका मालिकहरु फरार रहेकाले निजको खोजतलास गर्दा नभेटिएपछी उक्त तिजौरीलाई सोही दिन जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।

प्रहरी कार्यालयमा लगेको तिजौरी खोल्ने चाबी नभएको भन्दै उक्त तिजौरीको चाबी बनाएर बुधबार जनप्रतिनिधिको रोहबरमा लक खोल्दा त्यसभित्र केही नभएको बाँके प्रहरीले जानकारी दिएको छ। आइतबार  र सोमबार बरामद भएको करोडौं रुपैयाँका बारेमा प्रहरीले गहिरो अनुसन्धान सुरु गरिसकेको छ।

सुन तस्करीको जालो भारत-नेपालगन्ज हुँदै  काठमाण्डौंसम्म

आइतबार  नेपालगन्जको न्यूरोडबाट  लाखौं रुपैयाँ  बरामद घटनामा बाँके प्रहरीले एउटा टोली बनाएर गरेको अनुसन्धानका क्रममा बरामद भएको करोडौं रुपैयाँ सुन र पैसा तस्करी गर्ने अन्तर्राष्ट्रिय  गिरोहसंग कनेक्सन भएको केही तथ्यहरु समेत फेला परेको छ ।

संस्थागत गिरोहहरुले सेटिंगमा दाङ र  काठमाण्डौं  लगायतका स्थानबाट नेपालगन्ज सुन ल्याउने र उक्त सुन नेपालगन्जका बिभिन्न स्थानम गलाई तथा मिक्स गरेर भारततर्फ तस्करी गर्ने बिभिन्न गिरोह मध्ये  आइतबार न्यूरोडबाट बरामद भएको लाखौं रुपैयाँ त्यस मध्यको एउटा गिरोहको रहेको खुलेको छ ।

त्यस गिरोहमा नेपालगन्ज–जैसपुर देखि भारतीय केही व्यक्तिहरु समेत सुन तस्करी गिरोहमा रहेको र त्यस गिरोहले केही समयदेखि काम गरिरहेकोमा आपसी बिवादका कारण उक्त घटना बाहिरिएको हुनसक्ने स्रोतले बताएको छ ।

सुन तस्करी गर्ने गिरोहका केही सदस्य काठमाण्डोंमा बसेर नेपालगन्ज तर्फ पठाउने, केहीले नेपालगन्जमा मिक्स गरेर भारततर्फ पठाउने गरेको घटना अध्ययनको क्रममा देखिन्छ भने दाङबाट ल्याउने समूहले भने कहिले जीप  त कहिले मोटरसाईकलमा बिभिन्न व्यक्तिहरु मार्फत ल्याउने गरेको स्रोतको दाबी रहेको छ ।

भारतमा सुनको माग अत्याधिक बढेको र नेपालगन्जमा पनि सुनका पसल खोल्ने संख्या धेरै बढेकोमा पछिल्लो पटक केही व्यक्तिले  सुन तस्करीलाई मुख्य पेशा बनाएर अगाडि बढेको देखिन्छ । सुनको कारोबार गर्ने व्यक्तिहरुले बैंकमार्फत पैसा काठमाण्डौं पठाउने क्रममा आइतबार उक्त लाखौं रुपैयाँ  भरीयाले लिएको अवस्थामा बरामद भएको देखिन्छ ।

त्यसैगरी भारतमा बिधिवत रुपमा सञ्चालन गर्न मिल्ने बिभिन्न एप्स मार्फत अनलाइन जुवाका लागि भारतमा बसेर नेपालमा सञ्चालन गर्ने र ठग्ने कार्यमा समेत बिभिन्न बैंकको दूरपयोग हुने गरेको बिभिन्न घटनाका क्रमले उजागर गरिसकेको छ ।

सुन-पैसा तस्करीदेखि अनलाइन जुवा जस्ता कार्यमा बैंकको प्रयोग

आइतबार लाखौं रुपैयाँ बरामद घटनामा अभियुक्तहरुले नेपालगन्जस्थित बिभिन्न बैंक मार्फत केही दिनमा नै बिभिन्न व्यक्तिहरुको नाममा करिब २५ करोड रुपैयाँ जम्मा गरेको बैंक भौचर समेत फेला परेको छ ।

घटना छानबिनका क्रममा बिभिन्न व्यक्तिहरुलाई १ लाख रुपैयाँ कमिशन  दिएर पैसा बैकमा जम्मा गर्ने र झिक्ने कार्यमा लगाइएको, पछिल्लो समय कारोबार दैनिक जसो हुन थालेपछि  केही व्यक्तिलाई मासिक रुपमा राखेर १५ हजार रुपैयाँ दिएर बैंकमा पैसा जम्मा गर्ने र झिक्ने कार्यलाई पेशा नै गराएको देखिन्छ ।

लाखौं रुपैयाँसहित पक्राउ परेका भरीयाहरुको बयानको आधार र घटनाको क्रममा बरामद भएको  बैंक भौचरले  नेपालगन्जका शाखाबाट पैसा जम्मा गर्नका लागि गिरोहले पैसा पठाउन बिभिन्न स्थानमा बैंक खाता खोल्न लगाएर पैसा जम्मा गर्ने र चेक मार्फत निकाल्न लगाउने कार्यहरुले सुन तस्करी र हुण्डी कारोबार बैंकमार्फत नै कारोबार गर्ने गरेको गतिलो उदाहरण नेपालगन्जको घटनाले उजागर गरेको छ ।

यस कार्यमा बैंकहरुको पनि मौन समर्थन जस्तो देखिन्छ । हरेक दिन पैसा झिक्ने र पठाउने व्यक्तिहरिको दैनिक कारोबार बिवरण हेरि उक्त कार्यको सूचना सम्बन्धित निकायलाई दिनु पर्नेमा बैंक शाखाका जिम्मेवार कर्मचारीहरु पनि यस कार्यमा संलग्न रहेको आधारहरु देखिएको छ ।

नेपालगन्जबाट  स्रोत नखुलेको करोडौं रुपैयाँ बरामद  घटनामा सुन तस्करी र हुण्डी कारोबारका लागि नेपालगन्जस्थित बिभिन्न बैंकका शाखा संलग्न रहेको घटनास्थलबाट फेला परेका कागजातहरुमा देखिन्छ । केही समयको अन्तरालमा मात्र करीब १८ करोड नेपाली रुपैया ट्रान्जेक्सन गरेको बिभिन्न बैकका भौचरहरु फेला परेका छन ।

फेला परेका भौचरमा उल्लेखित रकम र व्यक्तिका सम्वन्धमा गरिएको अनुसन्धानले गैरकानुनी कारोबारमा नेपालगन्जकाअ करिब १ दर्जन बैंक त्यस कार्यमा प्रयोग भइरहेको देखिएको बाँके प्रहरीले जनाएको छ।

नेपालगन्जमा सुन तस्करीको चक्र

नेपालगन्जका बिभिन्न व्यक्तिहरु  संगठित रुपमा भारततर्फ गरिएको सुन तस्करी घटना भने आजको होईन । सुन तस्करी घटनामा केहि उभो लागेको देखिन्छ भने केही सडकमा नै पुगेका घटना पनि रहेका छन । सुन तस्करीमा ग्रहदशा लागे जसरी २-३ पटक लगातार प्रहरीले सुन बरामद गरेपछी साना र एक्लै तस्करी गर्ने व्यक्ति सडकमा आएको देखिन्छ भने संगठितरुपमा गर्नेहरुले अकुत सम्पती कमाएर बिभिन्न ठाँउमाअ लगानी गर्ने गरेको देखिन्छ ।

जे होस यसपटक बाँके प्रहरीले गरेको विशेष अपरेशनबाट सुन  तस्करी र हुण्डी कारोबार गर्ने गिरोहको उठिबास लाग्ने देखिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्