प्रधानमन्त्रीले आज विश्वासको मत लिंदै, क-कसको छ समर्थन?

बुधबार, फागुन ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिदैछन् । प्रचण्डले अजको प्रतिनधिसभाको बैठकबाट विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड  २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए । उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा ), जनता समाजवादी पार्टी(जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गरेका थिए ।

संसद्मा उपस्थित २ सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ । त्यसबेला नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा एमाले, रास्वपा, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले १ सय ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा ८९ मत परेको थियो ।

यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । सो दलले विश्वासको मत फिर्ता लिएको छ ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा , जसपा र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन् । सरकार विस्तारसमेत भइसकेको छ । नयाँ गठबन्धनको समर्थन प्राप्त गरेका प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन् । गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएकी छिन् ।

सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले ह्वीप जारी गरिसकेको, नागरिक उन्मुक्ति पार्टीलगायतका दल र सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । यस आधारमा प्रधानमन्त्रीले सहजै विश्वासको मत प्राप्त गर्नेछन्  । प्रधानमन्त्रीलाई विश्वासका लागि १ सय ३८ मत आवश्यक पर्दछ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्