सकियो बाँके कांग्रेसको पालिका स्तरीय प्रशिक्षण

मंगलबार, फागुन २९, २०८०
Neuro hospital Nepalgunj

बाँके । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि चलेको पालिका स्तरीय प्रशिक्षण कार्यक्रम आज सकिएकोे छ। 

फागुन २५ गतेदेखि काहेलपुरबाट शुरु गरिएको एक दिने प्रशिक्षण कार्यक्रम आज वैजनाथ गाउँपालिकामा सञ्चालन गरेर समापन गरिएको हो । कोहलपुर, राप्तीसोनारी, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा प्रशिक्षण सञ्चालन गरिएको थियो । जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा एक महिनापछि प्रशिक्षण शुरु गरिने कांग्रेस बाँकेले जनाएको छ । रमजानका कारण अहिलेलाई प्रशिक्षण स्थगित गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले जानकारी दिए । 

प्रशिक्षण समापन समारोहमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डले कांग्रेसी कार्यकर्ता बैचारिकरुपमा सशक्त भए मात्रै संगठन सुदृढ र चलायमान हुने बताए । प्रमुख प्रशिक्षक समेत रहेका पाण्डेले बैचारिक ज्ञान र स्पष्टताले नै अन्य पार्टीसँग प्रतिष्पर्धा गर्न सकिने स्पष्ट पारे ।  कांग्रेस गुट उपगुटमा विभाजित नभइकन जनसरोकारका सवालमा केन्द्रित भएर अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए । 

सहमहामन्त्री पाण्डेले कांग्रेस सुदृढीकरण लगायतका विविध पाटोमा प्रशिक्षण दिएका थिए। यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले नेपाली कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस, प्रजातन्त्र र समाजवाद, पत्रकार शुक्रऋषि चौलागाईले कांग्रेस र मिडिया बीचको सम्वन्ध, तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, योजना, कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिएका थिए । 

नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देबबहादुर केसीले स्वागत गरेको कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख अधिकारीले गरेका थिए भने सञ्चालन प्रशिक्षण शाखा सचिव उमा थापा मगरले गरेकी थिइन् । पालिका र वडा तहका विभिन्न पदाधिकारी सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

तालिममा सहभागी अधिकांशले प्रशिक्षणबाट पार्टीको सैद्धान्तिक विचार, नीति, संगठन निर्माण, मिडिया र सामयिक ज्ञानसँगै धेरै विषयबारे जानकारी प्राप्त भएको र उपलव्धिमूलक रहेको  बताए । 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्