प्रचण्ड-पथ अन्त्य भएको १५ वर्ष बितिसक्दा पनि अझै परिवारवाद हावी

सोमबार, फागुन २८, २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रभित्र प्रचण्ड–पथको अन्त्य भएको १५ वर्ष भैसक्दा पनि परिवारवाद भने बलियोसँग हावी भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा आफ्नै भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णयले परिवारवाद हावी भएको थप पुष्टि भएको छ । 

२०५७ माघ २६ देखि फागुन १ गतेसम्म भारत, पञ्जाबको भटिन्डामा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्ड–पथ पारित गरेको थियो । त्यसपछि हरेक मोर्चामा उसले माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्ड–पथको नारा लगाउन थाल्यो । 

नाम र वाद दुवैमा पुष्पकमल दाहाल प्रचण्ड स्थापित हुँदै गए । २०६५ पुस २९ गते नारायणकाजी श्रेष्ठको एकता केन्द्रसँग एकीकरण भएपछि माओवादीले प्रचण्ड–पथ त्यागेको थियो । 

२०६५ मंसिर ५ देखि ११ गतेसम्म भक्तपुरको खरिपाटीमा भएको भेलामा अल्पमतमा परेपछि । हतारहतार एकता केन्द्रसँग एकीकरण गरेर पार्टीको नाम नै एकीकृत नेकपा माओवादी राखेका थिए । 

प्रचण्ड–पथ स्वीकार नगर्ने नारायणकाजी श्रेष्ठ र अरूहरूको सन्देशपछि उनले दस्तावेजबाट सुटुक्क प्रचण्ड–पथ पनि हटाएर जोगिएका प्रचण्डले १५ वर्षपछि आफ्नो  परिवारलाई महत्वपूर्ण मुलुकको कार्यकारी ओहोदा पार्टीमा स्थापित गराउँदै ल्याए । 

आइतबार बसेको सचिवालय बैठकले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनु पनि त्यसैको परिणाम हो ।  

२०८०  असार २३ मा  प्रचण्डले ज्वाइँ अर्थात् छोरी तथा स्वकीय सचिव गंगा दाहालका श्रीमान् जीवन आचार्य कोशी प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त गर्ने निर्णय गराएका थिए । 

त्यसको भोलिपल्ट २४ असारमा ज्वाइँ आचार्य मन्त्रीमा नियुक्त भए । २२ असारमा आचार्यलाई मन्त्रीमा दोहोर्याउन नहुने बलियो मत कोशी प्रदेशको माओवादी संसदीय दलमा देखियो । 

आचार्यको सट्टा नयाँ अनुहारलाई अवसर दिनुपर्ने र पार्टीका पुराना नेतालाई मन्त्री पठाउने अडान केही सांसदहरूको थियो । सोही कारण २२ असारमा तत्कालीन मुख्यमन्त्री उद्धव थापालाई माओवादीले मन्त्रीको नाम दिन सकेको थिएन । 

त्यसपछि ज्वाइँ आचार्य बालुवाटारको बलमा २४ असारमा पासामात्र पल्टाएनन्, पुराना र अवसरको दाबीमा रहेका नेताहरूलाई पाखा लगाएर बढुवा भएर मन्त्री भए । त्यसको परिणाम उदयपुरबाट निर्वाचित प्रदेश सांसद नारायण बुर्जा मगरले सार्वजनिक रूपमै राजीनामा दिने मनस्थिति बनाएको अभिव्यक्ति दिएका थिए ।

यसको श्रृंखला यतिमा रोकिँदैन १९ असार २०७९ मा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य केन्द्रीय सदस्य मनोनित भएका थिए । केन्द्रीय समितिको तेस्रो बैठकमा उनीहरूको नाम सार्वजनिक भएको हो ।

बैठकमा केन्द्रीय सदस्यको सूचीको ३ सय १३ औँ नम्बरमा गंगा दाहाल र ३ सय १८औँ नम्बरमा ज्वाइँ आचार्यको नाम राखेर थप केन्द्रीय सदस्यको सूची सार्वजनिक भएको थियो । प्रचण्डका ज्वाइँ आचार्यको माओवादीमा योगदान भनेकै प्रचण्डकी छोरी गंगा दाहालसँग विवाह गर्नु थियो ।

माओवादीमा जोडिनेबित्तिकै अवसर हात पार्न थालेका आचार्यले विवादका बीच २०७४ को प्रदेशसभाको चुनावमा टिकट पाए पनि चुनाव हारे तर उपराष्ट्रपति नन्दबहादुर पुनको विज्ञ सल्लाहकारका रूपमा जागिर खाए । त्यसपछि ज्वाइँ आचार्यले प्रचण्डकै जोडबलमा २०७९ मा पनि प्रदेश सभाको टिकट पाएर जिते मन्त्री बने ।

प्रधानमन्त्री प्रचण्डले छोरी रेणु दाहाललाई पार्टीको उत्तराधिकारीका रूपमा अगाडि सार्ने रणनीति लिएका छन् । त्यसैकारण पार्टीको जिम्मेवारीमा केन्द्रीय कमिटीदेखि भरतपुर महानगरपालिकाको मेयरमा दोहोर्याएका छन् । 

रेनुलाई अर्को चुनावमा चितवन ३ बाट संघको उम्मेदवार बनाउने प्रचण्डको रणनीति देखिन्छ । रेणुका श्रीमान् अर्जुन पाठक अहिले मेयरको सचिवालयमा आवद्ध छन् । 

पाठक पहिले माओवादीको संसदीय दलको कार्यालयमा काम गर्दथे । त्यति मात्र होइन पाठकले गणेशमान पुन उद्योग, आपूर्ति तथा वाणिज्यमन्त्री भएका बेलामा स्वकीय सचिव भएर काम पनि गरेका थिए । 

प्रचण्डका अर्का ज्वाइँ सागर केसी भने संसद सचिवालयमा काम गर्दथे । सभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटा रहेको बेलामा केसीले सचिवालयमा काम गर्ने गरेका थिए । 

रेणु दाहालसँग नातेदारी रहेका बुद्धि जीसीले पनि अवसर पाएका छन् । रेणुका श्रीमान् अर्जुन पाठकका ज्वाइँ नाता पर्ने जीसी पार्टीको केन्द्रीय सदस्य मात्र छैनन्, प्रधानमन्त्री कार्यालयको जनसम्पर्क सचिवालयमा कार्यरत छन् । 

प्रचण्ड परिवारको सदस्य भएकै भरमा कति छिटो अवसर पाइन्छ भन्ने उदाहारण हुन्, सृष्टि केसी दाहाल । ६ असार २०७९ मा माओवादी अध्यक्ष प्रचण्डकी नातिनी सृष्टि दाहाल अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन् । 

अध्यक्ष पञ्चा सिंहले दाहाललाई केन्द्रीय सदस्य मनोनयन गरेकी हुन् । दाहाल प्रचण्डकी जेठी छोरी ज्ञानु केसीकी छोरी हुन्। 

हाल राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार रहेका भाइ नारायण दाहाल शुरुकै दिनदेखि प्रचण्डको बही खाता राख्ने व्यक्ति हुन्। 

उनी पार्टीको जिम्मेवारीका अलावा सांसद हुँदैे राष्ट्रियसभा सदस्य भएकाले राष्ट्रिय सभा अध्यक्ष हुने अवसर जुरेको हो । दाहाल परिवार र उनी निकटले मात्रै अवसर पाउने भएकै कारण चितवनका माओवादी नेता केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइञ्चार्ज भइसकेका नेता यमबहादुर परियार चुनावको मुखमा २०७९ कात्तिकमा माओवादी छोडेर एमालेमा प्रवेश गरेका थिए ।

प्रचण्डसँग चितवनको दाहाल नाता भएकै आधारमा महेश दाहाल अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए । माओवादीमा प्रचण्डकी बुहारी भएकै कारण बिना मगरले पनि अतिरिक्त अवसर पाउने गरेकी थिइन् । 

२०७४ मा कञ्चनपुर–४ बाट चुनाव जितेकी बिना प्रचण्डको आडमा खानेपानी मन्त्री भएकी थिइन् । पार्टीमा पनि निरन्तर बढुवा भइरहेकी मगर अहिले प्रचण्डको उत्तराधिकारीको दौडमा छिन् । 

उनी सुदुरपश्चिम इन्चार्ज भएपछि गएको स्थायी कमिटी बैठकमा जनार्दन शर्माले नोट अफ डिसेन्ट नै लेखेका थिए । प्रचण्डको साला नाता पर्ने हेमराज पाठककी श्रीमती अधिकारी अहिले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा छिन् । 

प्रचण्डको परिवारसँग सम्बन्ध जोडिएकै कारण गोरखाका चुडामणि खड्काले पनि प्रशस्तै अवसर पाएका थिए । 
हाम्राकुरा

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्