बाँकेको डुडुवामा औलो देखिएपछि उच्च सतर्कता, घरधुरी सर्वेक्षण गरिँदै

आइतबार, फागुन २७, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सर्तकता अपनाइएको छ ।

गाउँपालिकाको वडा नम्बर–४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिन अघि औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए । उनका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परिक्षण गर्दा औलो रोग पुष्टि भएको हो ।

दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं. ४ अन्र्तगतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ । तीन जनाका दरले चार वटा समूहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्वेक्षणसंगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताए । स्थानीयलाई ज्वरो लगायतका सामान्य लक्षण देखिने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परिक्षण गर्न लगाइएको छ ।

सबै स्वास्थ्य संस्थाहरुमा रगत परिक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ । समुदायमा पुगेका स्वास्थ्यकर्मीहरुले रोगबाट बच्ने उपाय, सावधानी लगायतका विषयमा जानकारी गराउने कार्य गरिरहेका छन् ।

पालिकाले घरधुरी सर्वेक्षण पश्चात रोगबाट बच्नका लागि निःशुल्क किटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्