सुन तस्करीमा पक्राउ परेका चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

बिहीबार, फागुन २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुन तस्करीमा संलग्न चिनियाँ मुलुकका बेल्जियन नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा एक जना अधिकृतलाई  पक्राउ गरेको छ। प्रहरीले बागमती प्रदेश सभा सचिवालयमा कार्यरत अधिकृत छैटौँ तहमा कार्यरत रहेका अधिकृत रामचन्द्र अर्याललाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई पक्राउ गरिएको मकवानपुरका एसपी सीताराम रिजालले जानकारी दिएका छन् । पक्राउ परेका अर्याल केही समयअघि मात्रै  यातायात कार्यालय ठूलो भर्याङ काठमाडौँबाट सरुवा भएर बागमती प्रदेश सभा सचिवालयमा पुगेका थिए ।  काभ्रेमा रहँदा सुन तस्करीमा संलग्न रहेका दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको नागरिकता दिलाएको उनीमाथि आरोप छ । 

नेपाली नागरिकता लिएका दुबै जना अहिले सुन तस्करीको आरोपमा थुनामा रहेका छन् । उनीहरु दुवै जनाको नेकपा माओवादी केन्द्रका नेताहरुसँग सम्पर्क रहेको थियो । 

अर्याल काभ्रेमा नायब सुब्बा रहेका बेला नागरिकता वितरण गरेको स्रोतले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय काभ्रेबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने  अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो । 

ती दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको  पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाहीका लागि उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्