सहकारी ठगी प्रकरणमा मुछिएका रविलाई गृहमन्त्री बनाएकोबारे कांग्रेसले माग्यो जवाफ

बिहीबार, फागुन २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मनगढन्ते दोष दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफैं सत्ता गठबन्धन टुटाएको  बताएका छन् ।  आजको संसद बैठकमा बोल्दै  लेखकले प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न नपाइनेसमेत बताएका हुन्।

त्यस्तै लेखकले अनुसन्धानको दायरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री नियुक्त गरेको बारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सहकारी ठगीको आरोपमा अनुसन्धान गरिरहेको र राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई गृहमन्त्री बनाउनुको कारण प्रधानमन्त्रीले जवाफ दिनुपर्ने प्रमुख सचेतक लेखकले बताए।

'लामिछानेविरुद्द सम्पत्ति शुद्दीकरण विभागले समेत छानबिन गरिएरहेको अवस्थामा के-कति कारणले उपप्रधान तथा गृहमन्त्री बनाइयो', त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने उनले बताए।

त्यस्तै उनले भने, “प्रधानमन्त्रीले कुनै मन्त्रीले काम गरेन वा काम गर्न दिएन भनेर भाग्न पाइँदैन। प्रधानमन्त्री देश र सरकारको नेता हो । समग्र कामको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ।” लेखकले आफूहरूसमेतले बनाएको गठबन्धन एकाएक टुटेको विषयमा आश्चर्य व्यक्त गरे । उनले प्रधानमन्त्रीले राजनीतिक बेइमानी समेत गरेको संसदमा दोहोर्‍याए। 

उनले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताए । उनले सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? हो भन्दै प्रश्नसमेत गरे । उनले संक्रमणकालीन न्यायको विधेयक कांग्रेसका कारण नरोकिएको पनि स्पष्ट पारे ।

लेखकले भने, ‘संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ?नेपाली कांग्रेसले ?अनि तपाईंले यही कुरा लेखेर हस्ताक्षर गरे भनेपछि नेपाली कांग्रेसप्रति न्याय गरे । विश्वास, इमान गरे र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गरे । यसका बारेमा कांग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो ? इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन । त्यसकारण मेरो सम्माननीय नेता बेइमानी शब्दप्रति तपाईंहरुको ध्यान गम्भीर रुपले भएको छ, तर इमानको कुरा त कांग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो । सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? संघीयता कार्यान्वयन सम्बन्धी बाँकी कानून निर्माण गर्न भनिएको छ । साथै सबै तहका सरकारलाई प्रभावकारी बनाउने भन्ने छ । त्यसो भए संघीयतासम्बन्धी कानून पनि १४ महिनामा बनेनन् । अनि गर्नु के भयो त ?यो सत्य पनि छ कतिपय कुराहरु । किनभने दुई वटा अधिवेशनमा केही मात्रै कानून पारित भएका छन्। कसले रोक्यो कांग्रेसले ?'

प्रमुख सचेतक लेखकले कांग्रेस जस्तौ धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा (माओवादी केन्द्र) के होला भन्ने हेक्का राख्न चेतावनी समेत दिए । उनले १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उनले यही अनुपातमा ५ वर्षमा १३ पटक गठबन्धन फेरिने बताए । उनले प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धताहरुमा माथि कुठाराघात गरेको आरोप लगाउनु भयो । उनले केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह गरे । उनले प्रधानमन्त्री दाहालले यता र उताको कुरा गरेर गठबन्धन तोडेको कारण देखाउनु लज्जाजनक भएको बताए । उनले प्रधानमन्त्रीको नेतृत्व र योग्यता नहुँदा यो अवस्था आएको बताए । लेखकले संसद बैठकमै अरु सबै गलत आफू मात्रै ठिक भन्ने घमण्ड प्रधानमन्त्री प्रचण्डलाई नदेखाउनसमेत चेतावनी दिएका हुन्  ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्