पुनर्गठित मन्त्रिपरिषद्मा रास्वपाका सबै मन्त्री ब्याक बेन्चरमा

बिहीबार, फागुन २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन गरेपछि पुनर्गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै मन्त्रीहरु पछिल्लो वरीयतामा परेका छन् । प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपति कार्यालयले गरेको मौजुदा मन्त्रिपरिषद्को हेरफेरका क्रममा यस्तो अवस्था देखिएको हो । 

उपप्रधानमन्त्रीको रुपमा नियुक्ति पाएका रवि लामिछाने उपप्रधानहरुमध्ये अन्तिममा छन् । उनीभन्दा अगाडि एमालेका रघुवीर महासेठ र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ छन् । 

त्यस्तै अन्य तीन जना मन्त्रीहरुलाईसमेत अन्तिम सूचीमा राखिएको छ । श्रममन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई मर्यादाक्रमको अन्तिममा राखिएको हो । 

जबकि अर्याल पार्टीका पहिलो वरीयताका उपाध्यक्ष हुन् । एमाले सचिवालयको अन्तिमबाट तेस्रो वरीयतामा रहेका रघुवीर महासेठलाई पहिलो वरीयताको उपप्रधानमन्त्री बनाइएको छ।

मन्त्रिपरिषद् बैठकमा यही मर्यादाक्रमकै आधारमा मन्त्रीहरुको स्थान निर्धारण हुने गर्छ । यस अर्थमा रास्वपाका मन्त्रीहरु मौजुदा मन्त्रिपरिषद्मा ब्याक बेञ्चर बनेका छन् । 

२० सदस्यीय मन्त्रिपरिषद्मा यस पटक चार जना नयाँ अनुहार छन् । एकीकृत समाजवादीका भानुभक्त जोशी, एमालेका बलराम अधिकारी, रास्वपाकी सुमना श्रेष्ठ र रास्वपाकै विराजभक्त श्रेष्ठले पहिलो पटक मन्त्रालयको जिम्मेवारी पाएका हुन् । 

मौजुदा मन्त्रिपरिषद्मा अब २ जना मन्त्री र बढीमा तीन जना राज्यमन्त्री थप गर्न पाइन्छ । अहिले स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै छ । 

जनता समाजवादी पार्टी जसपालाई सरकारमा ल्याउन ती मन्त्रालय खाली राखिएका हुन्। जसपाले सरकारमा जानेको नाम अझै पठाएको छैन ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्