कसले कुन मन्त्रालयको जिम्मेवारी पाए ? ( मन्त्रालयको नामसहित)

बुधबार, फागुन २३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  नयाँ गठबन्धन दलका सबै दलबाट मन्त्री नियुक्त गर्दै मन्त्रालयको जिम्मेवारी दिएका छन् । सरकारमा तीन जनालाई उपप्रधानमन्त्री नियुक्त भएका  छन् ।

प्रधानमन्त्री प्रचण्डले  नेकपा एमालेका सचिव रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । एमालेकै सोमबार मन्त्री नियुक्त भएका पदम गिरीलाई कानुन न्याय तथा संसदीय मामिला , हरि उप्रेतीलाई रक्षा, भगवती चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय , ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी मन्त्रालय र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डले नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका हुन् । त्यसैगरी वर्षमान पुन अर्थमन्त्री बनेका छन् । शक्तिबहादुर बस्नेतलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय  रेखा शर्मालाई पुरानै  सञ्चार तथा सूचना प्रविधि मन्त्रालय , र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् ।

गबन्धनको तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी दिदै सोमबार मन्त्री नियुक्त भएका डीपी अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै रास्वपाकै विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पुरानो सत्ता गठबन्धनमा रहेको माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादी (नेकपा एस ) बाट पनि दुई जनालाई प्रधानमन्त्रीले बिहीवार मन्त्री नियुक्त गर्दैछन् । नेकपा एसबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र धनबहादुर बुढाले शहरी विकास मन्त्रालय सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबारसम्म एमालेका ८, माओवादीका ५, रास्वपाका ४ गरि १७ जना मन्त्री नियुक्त गरेका हुन् भने भोलि नियुक्त हुने दुई जना गरि मन्त्रीको संख्या १९ पुग्नेछ। त्यस्रै गठबन्धनमा सामेल भएको जनता समाजवादी पार्टी (जसपा) ले अझै मन्त्रीको नामावली पठाएको छैन ।

आज मन्त्री नियुक्त भएका र भोलि नियुक्त हुने सबैले मन्त्रीहरुले शुक्रवार पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ।

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्