नेपालगन्जमा नि:शुल्क एम्बुलेन्स सेवा सुरु

सोमबार, साउन १, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन आजदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।

नि:शुल्क एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको बताए ।

“अस्पतालसम्म पुग्न विरामीले कुनै कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय सरकार जनताको सुखदुःखमा संगसंगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,” उनले भने–"चौबिसै घण्टा उपमहानगरनगरपालिकाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि विरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।”

उपप्रमुख कमरुद्दिन राईले आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बताए । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले नि:शुल्क एम्बुलेन्स सेवाले नगरवासी लाभान्वित हुने बताए । स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले लुम्बिनी प्रदेशमै बाँकेमा उच्च रहेको मातृशिशु मृत्युुदर घटाउन एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास ब्यक्त गरे । कार्यक्रमको संचालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजन शाहीले गरेका थिए ।

हाल नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहनेछन् । नेपालगन्जमा २० वटा एम्बुलेन्स संचालनमा छन् ।

नि:शुल्क एम्बुलेन्स सेवाका लागि सम्पर्क नम्बर: ९८०८८६४८८९; ९८०८८६५०९९

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्