सुस्ताको बरुवामा सशस्त्र प्रहरीको छापा, ४५ लाख बढीको अवैध चिनी र केराउ बरामद

मंगलबार, फागुन २२, २०८०

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले एक गोदाममा छापा मार्दा लाखौ रुपैयाँ बराबरको अवैध चिनी र केराउ बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं. २६ गण पश्चिम नवलपरासीका प्रमुख एसपी प्रकाश वाग्लेको कमाण्डमा गएको टोलीले सुस्ता गाउँपालिका-१ बरुवामा रहेको गोदाममा सोमबार साँझ छापा मार्दा २ सय बोरा अवैध चिनी र १७ सय बोरा केराउ बरामद गरेको लुम्बिनी सशस्त्र प्रहरी प्रमुख डीआईजी अभि खत्रीले जानकारी दिएका छन् ।

डीआईजी खत्रीका अनुसार एसपी वाग्लेको टोलीले   स्थानीय ज्ञानु अर्यालको घरपछाडि बनाइएको  गोदाममा लुकाइराखेको अवस्थामा ३८ सय क्विन्टल केराउ र करिब ३८ क्विन्टल चिनी बरामद गरेको हो।

सशस्त्र प्रहरीले भारतबाट ल्याइएको चिनी र केराउ एक गोदाममा लुकाइराखेको अवस्थामा छ भन्ने सुचना पाए पश्चात् एसपी वाग्ले आफै पुगेका थिए। भर्खरै सरुवा भएका एसपीको यो पहिलो ठुलो सफलता हो। सशस्त्र प्रहरीले बरामद गरेको उक्त चिनीलाई काठमाडौं  पठाउनका लागि  र केराउ अन्तै पठाइने तयारीमा रहेको थियो।

सशस्त्र प्रहरीले बरामद गरेको अन्दाजी ४५ लाख रुपैयाँ बढीको चिनी र केराउलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय नवलपरासी बुझाइएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्