'आबुधावी घोषणापत्र' जारी गर्दै महत्त्वपूर्ण विषयमा सहमति : मन्त्री रिजाल

आइतबार, फागुन २०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । विश्व व्यापार संगठनको  संयुक्त अरब इमिरेट्सको आवुधाविको मन्त्रीस्तरीय सम्मेलन  "आबुधावी घोषणापत्र" जारी गर्दै सम्पन्न भएको छ।

सम्मेलनमा अतिकम विकसित मुलुकका प्राथमिकता, व्यापार र समावेशीता, इ-कमर्स, विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्र, व्यापार तथा विकास, अतिकम विकसित मुलुकको हितका विषय, कृषि सुधार, अतिकम विकसित मुलुकबाट स्तरोन्नती सम्बन्धी प्रस्तावका सम्बन्धमा भएका छलफल र वार्तामा  नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको नेतृत्वको प्रतिनिधिमण्डलले सहभागीता जनाएको थियो। 

सम्मेलनबाट अतिकम विकसित मुलुकका तर्फबाट प्रस्तुत भएको स्तरोन्नती सम्बन्धी प्रस्ताव (LDC Graduation Proposal) मा सदस्य मुलुकहरुबीचमा सहमती जुटेको मन्त्री रिजालले बताए ।

सम्मेलनले  स्तरोन्नति भएका मुलुकलाई संक्रमणकालिन अवधीमा Duty Free Quota Free Market Access  प्राप्त हुने निर्णय गरेको हो। त्यसैगरी सम्मेलनबाट स्तरोन्नती पश्चात ३ वर्षसम्म क्षमता अभिवृद्धि सम्बन्धी सुविधाहरुको निरन्तरताका साथै अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएका मुलुकको सम्बन्धमा कुनै पनि उजुरी भएमा विवाद समाधान संयन्त्रमा यथोचित संयमता (Due restraint) अपनाईने समझदारी भएको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै स्तरोन्नति पश्चात सुविधाको निरन्तरताको लागि अतिकम विकसित मुलुकहरुको तर्फबाट प्रस्तुत गरिएको Trade Related Intellectual Property Rights (TRIPS) Agreement, Agreement on Agriculture, Agreement on Subsidies and Countervailing Measures, Agreement on Trade Facilitation अन्तर्गतका विषयहरुमा आगामी डिसेम्बर २०२४ भित्र यथोचित निर्णय गरी टुङ्गोमा पुग्न उक्त सम्मेलनले निर्देशन दिएको छ।

सम्मेलनका क्रममा  मन्त्री रिजाल नेतृत्वको टोलीले  चीन, अष्ट्रिया, साउदी अरेविया, मोरक्को, बंगलादेशका वाणिज्य मन्त्री, संयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि, भारतका वाणिज्य सचिव लगायतसंग द्विपक्षीय व्यापारका विषयमा समेत छलफल गरेको मन्त्रालयले जनाएको छ। 

साथै मन्त्री रिजालले सम्मेलनको पूर्व सन्ध्यामा १२औ चाइना राउन्ड टेबल उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै भूपरिवेष्टित देशहरूका लागि भौगोलिक विचलन हटाउन र पारवहन लागत घटाउन विश्व व्यापार सङ्गठनमा आबद्ध सदस्य राष्टहरुले थप सहयोग गर्न मन्त्री रिजालले आग्रह समेत गरेका हुन् । मन्त्री रिजाल नेतृत्वको टोलीले यूएईस्थित नेपाली राजदूतावासको अवलोकन समेत गरेको मन्त्रालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्