पोखरा-जोमसोम हवाई सेवा पुन: सुरु

शनिबार, फागुन १९, २०८०
Neuro hospital Nepalgunj

पोखरा। करिब ३ महिनापछि पोखरा-जोमसोम हवाई सेवा पुनः सुरु भएको छ ।  पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत मंसिर दोस्रो सातादेखि बन्द भएको थियो ।

गत मंसिर २० गतेदेखि उडान बन्द गरेको सुमित एयरलायन्सले शुक्रबारदेखि उडान भर्न थालेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताए ।

मंसिर  १० गतेदेखि उडान रोकेको तारा एयरलायन्सले पनि केही दिनमै जोमसोम-पोखरा उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

“मौसममा सुधार र पर्यटकीय याम सुरु भएकाले पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो”, विमानस्थलका प्रमुख शाहले भने, “सुमित एयरलाइन्सले आज दुई उडान भरेको छ ।”

बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नति भइरहेको अवस्थामा हवाई उडान सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । हवाई सेवा सुरु भएपछि मुस्ताङमा पर्यटकको चहल-पहल बढ्ने अपेक्षा गरिएको छ ।

सन् २०२३ मा ९१ हजार विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना  जोमसोमले जनाएको छ ।

गर्मी बढ्न थालेसँगै केही दिनयता बेनी-जोमसोम सडकमा भएर मुस्ताङ जाने आउने सवारी साधनको चाप बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्