छाडा चौपायाको सकस !

बिहीबार, फागुन १७, २०८०

शुक्रऋषि चौलागाईं । सनातन धर्म मान्नेहरुले जनावरलाई भगवान सरह मान्दछन् । तिहारमा गाई, कुकुर, गोरुलाई पुजा गर्ने पनि गर्दछन् तर अघिपछि तीनै जनावरलाई घरबाट बाहिर छाडिदिने, लखेटिदिने पनि गरिएको पाइन्छ । पशुधनीले गोठबाट निकालेका÷छाडेका चौपाया नै सडक, चौकमा आएका हुन् । छाडा चौपायाकोे व्यवस्थापन नै अहिले मुख्य टाउको दुखाइको विषय बनेको छ । लुम्बिनी प्रदेशका ठुला शहर नेपालगञ्ज, बुटवल, भैरहवा, तुलसीपुर, तौलिहवा, घोराही, कोहलपुर, परासी लगायतका शहरहरुका लागि अहिले मुख्य चुनौतीका रुपमा छाडा चौपाया रहेको छ । 

शहर र राजमार्ग छेउछाउमा गाई गोरु लगायतका छाडा चौपायाको बिगबिगी छ । नेपालगञ्जमा त झन गाईगोरुसँगै गधा, घोडासमेत सडकमै देखिन्छन् । छाडा चौपायाहरू सवारी साधन नै अवरुद्ध हुने गरी बस्ने गरेका छन् । छाडा चौपायाका कारण दुर्घटनाको जोखिम पनि बढदो छ । छाडा चौपाया नियन्त्रणमा स्थानीय सरकार उदासीन भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिएको पाइन्छ । छाडा चौपायाको नियन्त्रण र व्यवस्थापनमा पालिकालाई थप सकस भइरहेको छ  ।  

गाई-गोरुको महत्व

हिन्दु र गाई-गोरु परिपुरक हुन् भन्दा हुन्छ । गाई बिना हिन्दु र हिन्दु बिना गाई परिकल्पना गर्न सकिन्न । अर्काेतिर गाई गुण नै गुणले भरिपूर्ण छ । गाईलाई हिन्दु धर्ममा लक्ष्मी पनि भनिन्छ । यम पञ्चकको तेस्रो दिन लक्ष्मीको रुपमा गाईलाई पुजिन्छ पनि । गाई बिना स्वर्ग गइदैन भन्ने मान्यता अनुसार हिन्दुहरुले जीवनको अन्तिम कालमा गौदान गर्ने गर्दछन् ।  गरुड पुराण अनुसार गाईको पुच्छर समातेर हिन्दुहरु बैतरणी नदि तरि स्वर्ग जान्छन् भन्ने विश्वास छ । गाई पुजाले करोडौंको धर्म हुन्छ भन्ने मान्यता पनि छ । हिन्दुहरुका हरेक खाले संस्कारमा गाईको गौउत प्रयोग गरिन्छ । विशेषतः शुद्ध हुनलाई गौउत चाहिन्छ । पवित्र कार्यमा शुद्ध पार्न गाईको गोबर पनि चाहिन्छ । गाईको दुध सबै भन्दा पोसिलो हुन्छ। गाईको दुध बालबालिका र वृद्धवृद्धाको लागि झनै फाइदाजनक हुन्छ । खेतिपातीको लागि गाई÷गोरुको गोबर÷गौउत मलीलो मानिन्छ । हिन्दु धर्मालम्वीहरूले गोरुलाई पनि पुजा गर्दछन । गाईको भाले गोरु पनि सडकमै छाडिएको पाइन्छ । मुख्यत खेतबारी जोत्नको लागि प्रयोग गरिने भएपनि अन्य समयमा पाल्न गा¥हो हुने भएपछि गोरु पनि सडकमै छोडिएको हो ।   जग्गा जोत्न गोरुको छुट्टै भुमिका हुन्छ । सडकमा छाडीएका साँडेको पनि आफ्नै महत्व छ । भगवान शिवजीको बाहन नन्दी भनी पुजा गर्ने गरि आशीर्वाद माग्ने चलन छ । गाई गोरुको मललाई परम्परागत मलका रुपमा लिइएपनि खेतिबाली अन्न उब्जनीमा यसको प्रभावकारिता देखिन्छ । अग्र्यानिक मलका रुपमा यसले व्यापकता पाउदै गएको छ । गोवर र गौ मुत्रबाट पनि आर्थिक लाभ लिन सकिन्छ । आयुर्वेदका अनुसार गौमुत्रबाट क्यान्सर सम्मको बिरामीले लाभ लिन सक्ने बताइएको छ । पछिल्लो समय वैज्ञानिकहरुले यसको पुष्ट पनि गरेका छन् । तसर्थ गाईको महत्वको वर्णन गरेर साध्य छैन । 

किन छाडिन्छन् गाई-गोरु ?

पशुधनीले आफुले पालेका चौपाय किन सडकमा पु¥याउन्छन  ?  पशुरुहरु किन सडकमा ल्याइए ? यसको वास्तविकता कारण के हो पत्ता लगाउन जरुरी छ । सडकमा विशेष गरि गाई, गोरु छोडने चलन छ । दुध देउञ्जेल पाल्ने, दुध दिन छाडेपछि गाई सडकमा छाडिदिने चलन छ । बाच्छी दुधका लागि पाल्ने तर बाच्छाहरु सडकमै पु¥याईदिने पनि गरिन्छ । चाडपर्ब तथा सामाजिक कार्यमा गाई चाहिने हाम्रो समाज, गाई मर्दा भने रमिते झैं हुन्छ  । नाग पञ्चमीमा गोबर खोज्न हिड्ने । नाग देवतालाई दुध चढाउने । पितृ कार्य, बैबाहिक कार्य सबै काममा गाई चाहिने अनि एक मुठा घाँस दिएर पाल्न भने तयार नहुने । अचम्मको छ– हाम्रो समाज । पितृ उद्दारमा हजारौं रुपिया दान दिन तयार छ । एउटा भोको गाईलाई खुवाउन तयार छैन । भैसी किन सडकमा छाडा छोड्दैनन् ? बाख्रा किन छाडा छोडीएन ? किनभने भैसीको मासु खान्छन्  । बाख्राको पनि मासु बिक्री हुन्छ । नगद आउँछ । तर गाईबाट के मिल्छ  ? यही साेंच हो भने यो भन्दा बिडम्बना के हुन सक्छ ? 

गाई-गोरु घरपालुवा जनावर हो । जहाँ छाडेपनि यो वस्ती छेउकै सडकमा आउँछ ।  यीनीहरुले सुख्खा ठाउँ मन पराउँछन । त्यही भएर सडकमै बस्छन । अहिले सडकका गाई वस्तु नियन्त्रण गर्दै काञ्जीहाउसमा पु¥याइएपनि संख्यामा कमी आएको छैन । पशु धनीको पहिचानको अभावमा अहिले छाडा पशु बढेको हो । बजार सडकमा गाई÷गोरु कती छन्? भन्ने नै एकिन छैन । पछिल्लो समय त भारतीय सीमाबाट पनि गाई, गोरुहरु आएको अनुमान गरिएको छ । काम लाग्दाको भाँडा नचाहिंदाको ठाँडा भने झैं काम छउन्जेल गाईवस्तु पुज्ने, पाल्ने अनि काम सकिए, सडकमा फ्याँकीदिने प्रवृती छ । यसलाई कुनै पनि कोणबाट ठिक मान्न सकिदैन । यो  हिन्दु मात्र हैन, मानव संस्कृति पनि होइन । 

व्यवस्थापनको पहल खै ? 

जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ । समाधान बिनाको समस्या कहीं हुँदैन । छाडा चौपायाको पनि समाधान छ तर पुरानै सोंच र शैलीले मात्र सम्भव छैन । अहिलेको चुनौती भनेको गाईबवस्तुलाई सडकमै आउन नदिनु र आएकालाई संरक्षण गर्नु नै हो । सडकका गाई वस्तु काञ्जी हाउस-आश्रयस्थल पु¥याएर मात्र पालिकाको दायित्व पुरा भएको ठहरिदैन। कतिपय पालिकाले पशु पक्रने र कान्जी हाउस पु¥याउने गरिरहेकै छन तर यो दिर्घकालिन उपाय हैन । काञ्जी हाउसमा कैद गरिएका कैदी गाई खानै नपाएर मरिरहेका समाचार पनि बेला बेला आइरहेको छ । खान नपाएर पेट्मा ग्याँस भरिएर उपचारमा समेत समस्या आएको छ । काञ्जी हाउस ठेक्का प्रक्रियामार्फत सञ्चालन गरिनुपर्छ । पशु सडकमा आउन नदिन र आएका पशु नियन्त्रण गर्न नयाँ सोंच र विधी अपनाउन जरुरी  छ । स्थानीय कानुन समेत बनाउन सक्ने सरकारले सम्वद्ध विज्ञ र सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा पहलकदमी लिन अब ढिलाई गर्नु हुँदैन । प्रथमतः सडकमा पशु छोड्नै दिन हुँदैन । छाडा पशुलाई कारवाही हैन, पशुधनीको पहिचान गरेर  कारवाही गरिनुपर्छ । कारवाहीका लागि  नयाँ मापदण्ड पनि बनाइनु पर्छ । पशु चौपाया पालनमा पनि मापदण्ड बनाउनु पर्ने हुन्छ । अनुमती बिना गाइ लगायतका चौपाया पालन गर्न बजार क्षेत्रमा रोक लगाइनु पर्छ । जनावरको ‘ट्याग’ गरेर लगत राख्ने अनि पशुधनीलाई कारबाहीको दायरामा ल्याउने गर्नु पर्छ । गाई÷गोरुलाई सडकमा छाडेर पशु धनीले हिंसामाथि हिंसा गरिरहेका छन् । गाई वस्तुलाई सडकमा पु¥याइनु अबोध, निरीह प्राणी माथिको अत्याचार पनि हो । यस्ता पशुधनीलाई कानूनी रुपमा कारबाही र  सामाजिक रुपमा हतोत्साही गरिनुपर्छ । गाई सहितका पशुचौपायाको व्यवस्थापनका लागि प्रयाप्त जग्गा भएको भौतिक संरचनासहितको आश्रयस्थल  बनाउनु पर्छ । 

केही शहरमा काञ्जीहाउस, आश्रयस्थल निर्माण त गरिएका छन तर तिनको प्रभावकारी व्यवस्थापन र दिर्घकालिन स्थायीत्व भने खोजिएको छैन  । फुल्टेक्रास्थित काञ्जीहाउस साघुरो भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले केही वर्ष अघि वडा न २१ मा कान्जी हाउस सञ्चालनमा ल्यायो । केही कर्मचारी खटाएर गाई गोरुलाई कान्जी हाउसमा त थुनियो तर तिनीहरुका लागि आवश्यक खानेकुराको सही व्यवस्थापन गर्न अहिले पनि हम्मे हम्मे छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ र ८ को बिचमा कहरिया सामुदायिक वनमा गौशाला बनाएर छाडा गाईबस्तु राखिएको छ । यस्तै घोराहीमा पनि सामुदायिक वनको सहयोगमा छाडा पशु चौपाया नियन्त्रण गरिएको छ । छाडा चौपायाको समस्या दीर्घकालीन समाधान गर्न बुटवल उपमहानगरपालिकाले छिमेकी पालिकाहरूसँग समन्वय गरी प्रदेशस्तरको गौ संरक्षण केन्द्र बनाउने योजना बनाएको छ तर खासै पहल भने गरेको छैन । यस्तै तौलिहवामा सडकमै गाई गोरुको बथान देखिन्छ । तर नगरपालिकाले खास पहल गर्न सकेको देखिदैन । यस्तै अन्य पालिकाले पनि छाडा चौपाया एउटा ठाउँबाट अर्को ठाउँ धपाउने बाहेक ठोस पहल गरेको देखिदैन । 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट छाडा चौपाया नियन्त्रणको प्रयास गरे पनि दीर्घकालीन रूपमा समाधान गर्न नसकिएको स्वीकाछर्न । 

एउटा पालिकाले मात्रै चाहेर समाधान नहुने भएकाले सामूहिक प्रयत्नस्वरुप  प्रदेश सरकारले नै अगुवाइ गर्नुपर्ने नगर प्रमुख विष्ट सुझ्याउछन । स्थानीय तहले गर्दा कतै वनसँग कुरा नमिल्ने, कतै राजनीतिकरण हुने जस्ता समस्या देखिएकाले प्रदेशले नै गौशाला बनाउँदा दीर्घकालीन रूपमा समाधान निकाल्न सकिने स्थानीय सरकार प्रमुखको भनाई छ । तर नीतिगत रूपमा स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्ने भएकाले प्रदेशस्तरको गौशाला निर्माण गर्न नमिल्ने कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासिनीको भनाई छ । छाडा चौपाया व्यवस्थापनको समस्या छ भन्ने सबैलाई थाहा छ । समस्याबाट भाग्ने छुट कसैलाई पनि छैन । यसर्थ समाधान खोज्न लाग्ने हो भने स्थानीय सरकार र प्रदेश सरकारबीचको छलफलबाटै निकास खोजिनु पर्छ । नीतिगत पहलबाटै दिर्घकालिन व्यवस्थापन खोजिनु पर्छ । 

(चौलागाईं नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुन् )

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किन बदनाम हुँदै गयो न्यायालय ?
बिहीबार, फागुन १७, २०८०