नेपालमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू

आइतबार, असार ३१, २०८०

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुने गरी निगमले एपी ग्यासमा प्रति सिलिन्डर १० रुपैयाँ घटाएको हो । 

लामो समयको अन्तरपछि पहिलो पटक निगमले ग्यासमा मूल्य घटाएको हो । नेपालमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू भएसँगै ग्यासको मूल्य घटेको हो । अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ । डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

तर अब  निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै यदि भारतबाट मूल्य बढेर आयो भने नेपालमा पनि मूल्य बढ्नेछ । त्यस्तै घटेर आउँदा घट्ने निगमले जनाएको छ । 

भारतबाट हरेक १५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन (आईओसी) को ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

निगमले अहिलेसम्म ग्यासमा निरन्तर घाटा बेहोर्दै आएको भए पनि उपभोक्तालाई भने मूल्य बढाएको थिएन । तर अब भारतबाट मूल्य बढेर आउना साथ नेपालमा पनि मूल्य बढ्ने छ । जसको प्रत्यक्ष असर उपभोक्तालाई पर्नेछ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्