बाँके जिल्लाभर हालसम्म ८२.२ प्रतिशत बालबालिकाले लगाए दादुरा–रुबेलाको खोप

बुधबार, फागुन १६, २०८०

बाँके  । बाँकेमा हालसम्म ८२.२ प्रतिशत बालबालिकाले दादुरा–रुबेला रोग विरुद्धको खोप लगाएका छन् । फाल्गुन १३ देखि चलेको खोप अभियान अन्तर्गत आज चौथो दिनसम्म १ लाख ३६ हजार २७ जना बालबालिकाले अर्थात खोप लगाएका हुन् ।

बाँकेमा कूल १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ । हालसम्म खजुरा र कोहलपुर नगरपालिकामा लक्ष्य भन्दा बढी अर्थात खजुरा गाउँपालिकामा १२२.७ प्रतिशत तथा कोहलपुरमा १०९.४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

राप्तीसोनारीमा ८४.९, बैजनाथमा ८२.३ र डुडुवामा ८१.१ प्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठले बताए । यस्तै जानकीमा ६३.१ र नेपालगञ्जमा ६२.७ प्रतिशत बालबालिकाले दादुरा-रुबेला विरुद्धको खोप लगाएका छन् । उता नरैनापुरमा ५४.२ प्रतिशतले खोप लगाएका छन् । 

९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । खोप अभियान फाल्गुन ३० गतेसम्म जारी रहनेछ ।

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्