टी-२० मा नेपालको लगातार दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित

बुधबार, फागुन १६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल काठमाडौँमा जारी टी –२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २  रनले पराजित भएको छ।

आज भएको खेलमा१८५ रनको चुनौती लिएर मैदानमा उत्रेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रनमात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३६ बलमा ५० तथा आसिफ शेखले २३ बलमा ३४ रन बनाए । 

नेदरल्याण्ड्सका साइब्रान्ड इंगेलब्रेच्ट र रोएल्फ भान डर मेर्वेले २–२ विकेट लिए । 

कीर्तिपुरस्थित त्रिविको मैदानमा टस जितेर नेपालले खराब बलिङ गर्यो । नेदरल्याण्डले मात्र ४ विकेटको क्षतिमा १८४ रन बनायो । नेदरल्याण्ड्सका लागि डेब्यु खेलाडी माइकल लेभिटले ३६ बलमा ५४ रन बनाए । 

साइब्रान्ड एंगल ब्रेच्टले ३८ बलमा अविजित रहँदै ४९ रन जोडे । त्यस्तै कप्तान स्कट एड्वार्डसले १६ बलमा ३३ तथा तेजा निदामानुरुले २४ बलमा ३१ रन जोडे । 

नेपालका लागि करण केसी र कुशल मल्लले १–१ विकेट लिए । दुई खेलाडी रनआउट भए । 

नेपाललाई यो खेल पीर भुलाउने कि घाउमा नून छर्कने भन्ने महत्वपूर्ण रहेकामा घाउमा नून छर्कन पुगेको छ । घरेलु मैदानमा नेपालले लगातार हार बेहोरेसँगै यही घरेलु मैदान र घरेलु दर्शक पराइ बन्न थालेका छन् । 

लगातार हारपछि मुख्य प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेलको रणनीति विफल हुँदै गएको देखिएको छ । 

नेपालले पहिलो खेलमा मंगलबार नामिबियासँग हार बेहोरेको थियो । त्यतिमात्र होइन नामिबियाले विश्वकप लिग–२ का दुवै खेलमा नेपाललाई पराजित गरेको थियो । 

यसैले पनि मनोबल बढाउन नेपालले आजको खेलमा नेदरल्याण्डलाई हराएर दोस्रोपटक नामिबियासँग भिड्दा जित्ने गरी नै मैदानमा उत्रनुको विकल्प छैन । नेपालले पहिलो पटक घरेलु मैदानमा कमजोर खेलिरहेको हो । नेपालले अब शुक्रबार नामिबियासँग खेल्नेछ । बिहीबार नामिबिया र नेदरल्याण्ड्स खेल्नेछन् । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्