नेपालगन्जका सडकमा फोहर फाल्ने बैंकसहित आधा दर्जन पसललाई जरिवाना

सोमबार, फागुन १४, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही थालिएको छ ।

पटक-पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो । स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कार्वाही गरिएको छ । यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

ग्लोबल आइएमई बैंक, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल म:म सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जनही ५ हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । 

नगर प्रमुख प्रशान्त विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग बाणिज्य संघ, नागरिक समाज, होटेल व्यवसायी संघ लगायत सर्वपक्षीय टोलीले धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसक्रममा सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गरिएको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि नागरिक तहमा जागरण ल्याउन सचेतना प्रवर्द्धन अभियान थालेको थियो। 

नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । नगर प्रमुख विष्टले नगर सफा राख्नु सबै नगरबासीको दायित्व भएको भन्दै जथाभावी फोहोर नफाल्न आग्रह गर्नुभएको छ । विष्टले अब हरेक दिन साँझ नगरमा अनुगमन गरिने बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्