नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य

आइतबार, फागुन १३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत काठमाडौँमा जारी पहिलो त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै संघर्षपूर्ण खेल खेलेको छ । नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १७२ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि पहिलो र नवौं विकेटको साझेदारी सम्झनयोग्य भए पनि बाँकी साझेदारीले गर्दा नेपाल कमजोर ठहरियो । 

कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बलको सामना गरेका थिए । भुर्तेलसँग पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले १७ रन बनाए । त्यस्तै नवौँ विकेटको ३६ रनको साझेदारी हुने क्रममा करण केसीले २७ बलमा २६ तथा आरिफ शेखले ५० बलमा २२ रन बनाए । 

त्यसबाहेक कप्तान रोहित पौडेल १६, अनिल साह ७, गुल्सन झा ५, कुशल मल्ल २ तथा दिपेन्द्र सिंह ऐरी १ रन तथा भीम शार्की शून्यमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।

नेदरल्याण्ड्सका भिभियन किंग्मा र आर्यन दत्तले समान ३–३ विकेट लिए ।  चार खेलमा ६ अंकसहित नामिबिया शीर्ष स्थानमा रहेर उपाधि जितेको छ । नेपाल र नेदरल्याण्ड्सको समान २–२ अंक छ । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्