स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छ: सभामुख घिमिरे

शनिबार, फागुन १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बताएका छन् । राजनीतिक दल र जनपतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको सभामुखको भनाई थियो । 

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आज संसद भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पारे । 

घिमिरेले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरू लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरूले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सभामुख घिमिरले बताए । उनले क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

सभामुख घिमिरेले भने, ‘अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभूति के छ भने स्वास्थ्य जाँच गर्न जाने, बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाका राम्रोसँग विकास हुन थालेको छ । तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाइ छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ । स्वास्थ्य बीमालाई ठिक ढङ्गले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक सङ्घ, संस्थाहरूकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ रु भन्ने कुराकै जानकारी छैन । यो जानकारी राजनीतिक दलहरूले आफ्ना प्रतिनिधिमार्फत अथवा जनप्रतिनिधिहरूले आम जनताको बीचमा यो स्वास्थ्य बीमा भनेको के हो ? र यो बीमालाई उपयोग गर्नका लागि हामीले अपनाइरहेका नीतिहरू के हुन् ? यो नीतिलाई कार्यान्वयन गरिरहँदा त्यस भित्र देखा परेका विकृतिहरू के हुन् ? यसको बारमा पनि मसिनोसँग तल जनताको बीचमा लगियो भने यी धेरै कुराहरू नियन्त्रण हुन सक्छन् । मैले यो चर्चा गरिरहँदाखेरी राजनीतिक कर्मीहरू अथवा अहिले निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न तहको सरकारमा काम गरिरहेका जनप्रतिनिधिहरूको भूमिका जाँदै महत्त्वपूर्ण हुन्छ । हिजो यी सबै प्रणाली नहुँदा नहुँदै पनि मैले आफैले पनि सम्झिँदाखेरि विफर भन्ने रोग ठाउँ अनुसार विभिन्न भनियो । खटिरा आउने र मान्छेहरू मर्ने क्रम थियो । त्यो परिवारमा मात्रै सीमित नभएर टोल टोलमा पनि मानिसहरू मरेर गए । त्यसको निराकरण नै हुन सक्दैन भनेर ईश्वरलाई पुकार्ने चलनहरू पनि थिए । हामो देशमा त्यसको निर्मूल नै गर्ने कामहरू भयो । टिभी रोगको पनि हल भएर गयो । एवं रूपले अहिले चर्चा गर्दा खेरी क्यान्सर जुन रूपबाट आएको छ । मलाई के भन्न मन लाग्छ भने यो डरलाग्दो रोग हो । यो एकदम भयावह रूपबाट बढिरहेको छ । त्यस मानेमा पनि हामीले यसलाई हेर्नुपर्छ । तर यसलाई नियन्त्रण गर्न सकिन्छ । यसका उपायहरू खोज्न सकिन्छ । अहिले धेरै व्याख्या गरे । यसको आधारबाट पनि यो रोग लाग्नु भन्दा अगाडि नै समय समयमा चेक गर्ने यसको आवश्यकतालाई हामीले बुझाउन सकिरहेका छैनौँ । यस मानेमा पनि जनप्रतिनिधिहरूले यसलाई बुझाउने कुरालाई भयावह छ भनेर आत्तिएर बस्ने होइन कि त्यस रोगको उपचारको तयारी गर्ने । त्यो रोग लाग्न नदिने गरी चेतना फैल्याउने काम जनप्रतिनिधिहरूले गर्नुपर्छ ।’

 

 

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्